पर्साको विश्रामपुर गाविसमा रहेको भङ्गीसाह उच्च माध्यमिक विद्यालयमा आज बिहान फेला परेको सकेट बम सेनाले निष्क्रिय पारेको छ।
विश्रामपुर गाविस वडा नं ७ मा रहेको विद्यालय परिसरमा रातो कपडामा बेरेर राखिएको अवस्थामा शङ्कास्पद वस्तु देखेपछि आतङ्कित बनेका स्थानीयले प्रहरीलाई खबर गरेका थिए । विद्यालय परिसरमा फेला परेको शङ्कास्पद वस्तु सकेट बम भएको नेपाली सेनाले जनाएको छ।
यसैगरी अज्ञात समूहले पर्साको रामनगरीको देवानन्द देवराज उच्चमाध्यमिक विद्यालयमा राखिएको शङ्कास्पद वस्तु बम नभएको नेपाली सेनाका ३ नं क्षेत्रका प्रमुख लोक कटुवालले जानकारी दिए।
यसैगरी, विस्फोट गराउने उद्देश्यले अज्ञात समूहले सप्तरीको कल्याणपुर गाविसस्थित दुई स्थानमा राखेको बम पनि आज बिहान नेपाली सेनाले निष्क्रिय पारेको छ ।
निर्वाचनको सुरक्षार्थ खटिएका नेपाली सेनाको टोलीले बमलाई निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय सप्तरीको प्रवक्ता तथा प्रहरी नायब उपरिक्षक श्यामसिंह चौधरीले जानकारी दिए। रासस
प्रकाशित मिति: 2013-11-16 13:56:56