मधेसी मोर्चाको विरोधले महोत्तरीमा बिहीबार आयोजना गरिएको संघीय संरचनामा तहगत सरकार र स्थानीय शासन विषयक जिल्ला स्तरीय कार्याशाला गोष्ठी स्थगित भएको छ।
जिल्ला विकास समिति महासंघ नेपाल, नेपाल नगरपालिका संघ र गाविस राष्ट्रिय महासंघको संयुक्त आयोजना जिल्ला विकास समिति महोत्तरीको सभाहलमा भइरहेको गोष्ठीमा मधेशी मोर्चाका जिल्ला स्तरीय नेताहरुले राज्य संरचनाको विवाद चलिरहेको र तराई मधेशको जिल्लामा तोक्न लागिएको स्थानीय निकायको संख्या कम भएको भन्दै कार्यक्रमहरु गर्न नदिने बताएपछि कार्यक्रम केहीबेरका लागि स्थगित भएको हो।
नेपाली काँग्रेसका बजरंग नेपाली र नेकपा माओवादी केन्द्रका बिदुर कार्कीले मधेशी दलको भनाईलाई प्रतिवाद गर्दै कार्यक्रम सञ्चालन गर्न माग गरेपछि मधेशवादी दल र उनीहरुबीच करीब एक घण्टासम्म चर्काचर्की भएको थियो। पछि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरी कडा सुरक्षाका बीच कार्यक्रम सुरु गरिएको थियो।
तमलोपाका केन्द्रीय सदस्य ईन्द्रराज प्रसाद सिंह, सद्भावना पार्टीका सुदिपकुमार झा, तराई मधेश सदभावना पार्टीका गजेन्द्र गुप्ता, सद्भावना नेपालका संजय सिंह लगायतका नेता कार्यकर्ताले जिविस महासंघका अध्यक्ष कृष्णप्रसाद सापकोटाले गोष्ठीबारे प्रकाश पार्न खोज्दा कार्यक्रम बिथोलेका थिए।
स्थानीय तह पुनःसंरचना आयोगका सदस्य सुनिल रञ्जन सिंह, गाविस संघका महासचिव उद्धव रेग्मी, लगायतका ६ सदस्यीय केन्द्रीय टोली महोत्तरीको जलेश्वर आएको स्थानीय विकास अधिकारी कृष्ण प्रसाद चापागाईँले बताए।