जिल्लाको हुग्दिशिर गाविस–८, मा शुक्रबार दिउँसो एकीकृत नेकपा माओवादी र राष्ट्रिय जनमोर्चाका कार्यकर्ताबीच झडप भएको छ।
चुनाव प्रचारप्रसारमा क्रममा दुवै पार्टीका कार्यकर्ताबीच भएको झडपमा परि दुवैतर्फका नौ कार्यकर्ता घाइते भएका छन्।
झडपमा परी राष्ट्रिय जनमोर्चाका पूर्वसभासद मीना पुन, मीनबहादुर पुन, रीमबहादुर पुन, थमबहादुर थापा, लीलाबहादुर थापा, मोहन पुन, इन्द्रबहादुर पुन, खड्कबहादुर बोसेल घाइते भएको प्रहरीले जनाएको छ। त्यस्तै एमाओवादीका राज्य समिति सदस्य चिनीमायाँ काला पनि घाइते भएको जनाइएको छ। घाइतेहरूको अवस्था गम्भीर भएको बताइएको छ।
गम्भीर घाइते भएका जनमोर्चाका कार्यकर्ताहरूलाई हेलिकोप्टरबाट काठमाडौँ लैजाने तयारी भएपनि हेलिकप्टर अवतरणमा कठिनाइ भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत प्रकाश सापकोटाले बताए।
जनमोर्चाले आफ्नो चुनावी प्रचार टोलीमाथि एमाओवादीले आक्रमण गरेको जनाएको छ। माओवादीले भने आपसी भनाभनका क्रममा जनमोर्चाका कार्यकर्ताले आक्रमण गरेपछि दोहोरो झडप भएको जनाएको छ। रासस