अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यवाहक प्रमुख दीप बस्न्यातले निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको सचिवालय बन्द गर्नुका साथै उनले विशेषज्ञका रुपमा नियुक्त गरेका ११ जनालाई हटाएका छन्।
अख्तियार प्रवक्ता गणेश कार्कीले सेतोपाटीसँगको कुराकानीमा लोकमानले प्रयोग गर्ने सचिवालयबाट अहिले कुनै कामकारबाही नभएको जानकारी गराए।
लोकमानले विशेषज्ञ भन्दै नियुक्त गरेका व्यक्तिहरुलाई पदमुक्त गरेका छन्।
कानुन विज्ञ, प्रेस विज्ञ, अनुसन्धान विज्ञ , विशेषज्ञ डाक्टर र भूमिसुधार विज्ञ भन्दै लोकमानले नियुक्त गरेका ११ जनालाई मंगलबारदेखि उनले पदमुक्त गरेका छन्।
कात्तिक १७ गते देखि लागू हुने गरी विज्ञहरूलाई पदमुक्त गरिएको प्रवक्ता गणेश कार्कीले सेतोपाटीलाई बताए।
मंगलवार आयोगका आयुक्तहरुले सामूहिक छलफलपछि वरिष्ठ अधिवक्ता प्रमुख कानुन विज्ञ कोमलप्रसाद घिमिरे, कानुनविज्ञ भानुभक्त पोख्रेल, बालचन्द्र शर्मा, करुणाकर मल्लिक, सचिवालयका गोवर्धन श्रेष्ठ, रामहरी अर्याल (राजश्व विज्ञ) डा. निलमणि बराल (स्वास्थ्य विज्ञ), भरत राज शर्मा र माधव खत्रीलाई हटाएको हो।
त्यस्तै भूमिसुधार विज्ञको रुपमा कार्यरत हुपेन्द्रमणि केसी, मेडिकल विशेषज्ञ एवं कार्कीकी छोरी आध्याश्री कार्की र सञ्चार विशेषज्ञको रुपमा कार्यरत शरद अधिकारीलाई पनि हटाइएको आयोग स्रोतले बतायो।
यसैबीच बस्न्यातले यसअघि नै लोकमान निलम्बित भइसकेपछि उनलाई कुनै कुरा सोध्न नजान र कुनै सूचना नदिन भन्दै सचिव र कर्मचारीहरुलाई सचेत गराइसकेका छन्।