फाइल फोटो
सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले छठसम्म सहमति अनुसार संविधान संशोधन विधेयक नआए आन्दोलनमा जाने बताएका छन्।
मङ्गलबार सङ्घीय प्रेस फोरम धनुषाद्वारा जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले वर्तमान सरकार निर्माणको बेलामा भएको तीन बुँदे सहमति अनुसार सरकारले आफूले गरेको प्रतिबद्धता पुरा हुने गरी संशोधन विधेयक नआएको उल्लेख गरे।
उनले संविधान संशोधन नभए मधेसी, आदिवासी जनजाति, थारु, मुस्लिम, दलित र महिलालगायत उत्पीडनमा परेकाले ठूलो विद्रोह गर्ने अवस्था रहेकाले सत्तारुढ दललाई समयमै सचेत हुन आग्रह गरे।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्की विरुद्धको महाअभियोग प्रकरण बारे पत्रकारले राखेको जिज्ञासामा अध्यक्ष यादवले लोकमानमाथि लगाइएको महाअभियोगका कारण अझै अस्पष्ट रहेको र दर्ता गराउने दलले त्यस विषयमा आफूहरुसँग कुनै छलफल नगरेकाले आफ्नो चासोको विषय नरहेको स्पष्ट पारे।
उनले महाअभियोग लगाउनेले नै कार्कीलाई नियुक्ति गरेका हुन्, आखिर अहिले महाअभियोग किन लगाउनु प¥यो त्यो कुरा स्पष्ट हुनु पर्यो भन्दै महाअभियोगलाई बहाना बनाएर संविधान संशोधन प्रक्रियामा बाधक बनाउने कुरा उचित नभएको धारणा राखे।
अध्यक्ष यादवले स्वायत् शासन प्रादेशिक संरचनासहितको स्रोत साधनमा समानुपातिक समावेशी ढङ्गबाट सहभागिता हुने लगायतका संविधानमा भएको विभेद् अन्त्य नभएसम्म आफूहरुलाई यो संविधान कुनैपनि हालतमा मान्य नहुने र आफूहरु अधिकारका लागि लडिरहने जनाए। रासस