कांग्रेस नेता तथा सांसद धनराज गुरूङले नेपाली कांग्रेसले अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउने पक्षमा निर्णय गर्ने बताएका छन्।
आइतबार सेतोपाटीसँग कुरा गर्दै उनले भने, 'यो एमाले र माओवादीको मात्रै मुद्धा होइन। महाअभियोग प्रस्ताव म, गगन थापा र श्याम श्रेष्ठले संसदमा दर्ता गराएको सार्वजनिक महत्वको प्रस्तावको जगमा आएको हो। त्यसैले, यो कांग्रेसले उठाइरहेको मुद्धा हो।'
गत साउन ६ गते गगन थापाको प्रस्तावमा नेता गुरुङ र श्रेष्ठले समर्थन गरी संसदमा डा.गोविन्द केसीका मागबारे छलफल गर्न सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको थियो।
त्यसबेला अनसनमा रहेका डा. केसीले अख्तियार प्रमुख कार्कीविरुद्ध महाअभियोग लगाउनु पर्नेलगायतका माग राखेका थिए।
अहिले माओवादी र एमालेले ल्याएको महाअभियोग प्रस्ताव यहि सार्वजनिक महत्वको प्रस्तावको जगमा आएको नेता गुरुङले बताए।
उनले कांग्रेस प्रजातान्त्रिक पार्टी भएकाले सबैको कुरा सुनेर प्रकृया पुर्याई निर्णय गर्न समय लागेको बताउँदै कांग्रेसपछि नपरेको बताए।
'हामी भोलि नै चाँडै केन्द्रीय समिति बैठकबाट निर्णयमा पुग्छौं,' उनले भने।
कांग्रेसका केही नेताहरू कार्की पक्षमा उभिएको जस्तो देखिए पनि अधिकांश केन्द्रीय सदस्य महाअभियोगको पक्षमा भएको उनले बताए।
'कुन प्रभाव वा दबाबमा परेर केही नेताहरूले उहाँको बचाउ गर्न खोजेजस्तो देखिएको छ,' उनले भने, 'तर यो स्वर एकदमै सानो छ। यसले कांग्रेसलाई महाअभियोगको पक्षमा उभिनबाट रोक्न सक्दैन।'
कार्की विरुद्ध महाअभियोग लगाउन दर्जनौं प्रमाण भएको भन्दै अब अलमल गर्न आवश्यक नभएको बताए।