अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरूद्ध दर्ता भएको महाअभियोग प्रस्ताव अघि बढाउन अहिले केहीबेरमा व्यवस्थापिका संसद बैठक बस्दैछ।
संसद सचिवालयका अनुसार महाअभियोग प्रस्ताव अघि बढाउँदै त्यसका निम्ति छलफलका लागि समय तोक्न बैठक बस्न लागेको हो। बैठकमा महाअभियोग प्रस्तावले प्रवेश पाउने र छलफलको मिति र समय तोकिने सभामुख ओनसरी घर्तीमगरका प्रेस सल्लाहकार बबिन शर्माले सेतोपाटीलाई बताए।
स्रोतका महाअभियोग प्रस्तावबारे छलफल गर्न सभामुखले सम्भवतः मंगलबार बैठक डाक्नेछिन्।
शनिबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भएको छलफलमा महाअभियोग प्रस्ताव अघि बढाउने सहमति भएको थियो। सहमतिपछि सभामुखले आइतबारको बैठकमा प्रस्ताव अघि बढाउन तयारी थालेकी थिइन्।
नेकपा एमाले संसदीय दलको बैठकले महाअभियोग प्रस्तावको पक्षमा उभिने निर्णय गरिसकेको छ। नेकपा माओवादी केन्द्रले महाअभियोग प्रस्तावबारे निर्णय लिन अध्यक्ष दाहाललाई जिम्मेवारी दिएको छ।
बुधबार कार्कीविरूद्ध नेकपा माओवादी केन्द्र र एमालेका १५७ सांसदले महाअभियोग प्रस्ताव दर्ता गराएका थिए।