शनिबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच करिब एक घन्टा लामो छलफलपछि अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको संसदमा दर्ता महाअभियोग प्रस्ताव अघि बढाउने सहमति भएको छ। महाअभियोग प्रस्तावबारे छलफल गर्न सभापति देउवा शनिबार बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए।
‘प्रधानमन्त्री दाहाल र देउवाले एक्लाएक्लै करिब एक घन्टा छलफल गर्नुभयो,’ स्रोतले बतायो।
यो सहमतिसँगै सभामुख ओनसरी घर्तीमगरले आइतबार संसद बैठकमा महाअभियोग प्रस्ताव पेश गर्नेछिन्। तर, सो प्रस्तावमा छलफल भने कहिले अगाडि बढाउने भन्ने अझै निर्क्योल भएको छैन।
पहिलेजस्तो यो प्रस्तावलाई ‘फाष्ट ट्रयाक’मा अघि बढाउने सम्भावना भने नरहेको एक नेताले बताए। गत बिहीबार बिहान महाअभियोग प्रस्ताव संसदमा पेश गरेर दिउँसो दोस्रो बैठक बोलाई सो प्रस्तावमा छलफल अगाडि बढाउने सभामुखको योजना थियो।
‘सभापति देउवा संसदमा महाअभियोग प्रस्ताव पेश भएपछि भरसक त्यसमा छलफल अघि नबढिकनै लोकमानले राजीनामा दिउन् भन्ने चाहन्छन्,’ ती नेताले बताए।
लोकमानले राजीनामा दिने मनसाय देखाएनन् भने मात्रै शीर्ष नेताहरुबीच सल्लाह भएर छलफलको मिति तोकिने छ। महाअभियोग प्रस्तावलाई लिएर नेपाली कांग्रेसभित्र तीव्र मतभेद छ। अधिकांश युवा नेताहरु प्रस्ताव अघि बढाउनुपर्ने पक्षमा देखिएका छन्।
तर, केन्द्रीय समितिको हाल जारी बैठकमा धेरै नेताहरुले महाअभियोग प्रस्तावको विपक्षमा बोलेका छन्। त्यसैले यो केन्द्रीय समितिको बैठकबाटनेपाली कांग्रेसले महाभियोगको पक्षमा निर्णय गर्ने सम्भावना कम छ। अधिकांश सदस्य पार्टीले निर्णय गर्नुपर्ने अवस्था आए छानविन समितिको प्रतिवेदन आएपछि मात्र गर्ने पक्षमा छन्।
शनिबार बिहान दाहाल र देउवाबीचको छलफलपछि माओवादी केन्द्रमा भने महाअभियोग प्रस्तावलाई लिएर देखिएको केही अन्योल समाप्त भएको छ।
दुई नेताको सो बैठकपछि बसेको माओवादी केन्द्रको बैठकले महाअभियोग प्रस्ताव अघि बढाउने र त्यसको आवश्यक संयोजन गर्ने जिम्मा प्रधानमन्त्री दाहालाई दिएको छ। महाअभियोग प्रस्ताव दर्ता भएपछि बसेको एमाले संसदीय दलको बैठकले सो प्रस्तावलाई अघि बढाउने निर्णय गरिसकेको छ।
बुधबार साँझ एमाले र माओवादी केन्द्रका १५७ सांसदले अख्तियार प्रमुख कार्कीविरुद्ध महाअभियोग प्रस्ताव संसदमा दर्ता गराएका थिए। सो अप्रत्यासित प्रस्तावपछि पार्टीहरुभित्रै केही अन्योल र असन्तुष्टि देखिएको थियो।
प्रस्ताव दर्ता हुनु केही घन्टाअघि प्रधानमन्त्री दाहाल, एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति देउवाबीच महाअभियोग प्रस्तावबारे छलफल भएको थियो। सभापति देउवाले सो प्रस्तावबारे आफूले पार्टीभित्र सल्लाह गरेरमात्र निर्णय लिनसक्ने बताएका थिए। तथापि, देउवा स्वयं महाअभियोग प्रस्तावको विपक्षमा नरहेको बताइएको छ।
पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै महाअभियोग प्रस्तावपछि देशभरि दीपावलीको महोल बनेको देउवाले बताएका थिए। कांग्रेस केन्द्रीय समिति बैठक सोमबार पुनः बस्दैछ।