माओवादी केन्द्र हेडक्वाटर बैठकले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह काकीविरूद्ध महाअभियोगको प्रस्तावलाई अगाडि बढाउन संसदमा रहेका दलहरूसँग छलफल गर्ने निर्णय गरेको छ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहालको निजी निवास लाजिम्पाटमा बसेको पार्टी हेडक्वाटर बैठकले प्रस्तावलाई प्रक्रियागत रुपमा अगाडि बढाउन आवश्यक निर्णय लिने जिम्मा पार्टी अध्यक्ष प्रचण्डलाई दिएको छ। छलफल गर्ने र प्रस्तावलाई अगाडि पनि बढाउने निर्णय भएको प्रवक्ता पम्फा भुसालले सञ्चारकर्मीहरूलाई जानकारी दिए।
महाअभियोग प्रस्ताव दर्ता भएपछि लगातार बसेको बैठकमा महाअभियोग र त्यसपछि उत्पन्न हुन सक्ने राजनीतिक घटनाक्रम पनि छलफल भएको छ। लाजिम्पाट स्रोतले दिएको जानकारी अनुसार शनिबार साँझ अथवा बिहानसम्म सत्ता साझेदार दल नेपाली कांग्रेससँग छलफल गर्ने र आइतबार मधेसी मोर्चाका नेताहरूसँग छलफल गर्ने तयारी गरिएको छ। शनिबार बिहान मात्रै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको गोप्य छलफलपछि माओवादी केन्द्रलाई महाअभियोगको प्रस्ताव सबै पक्षसँग लैजान बल पुगेको हो।