सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमान सिंह कार्की विरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल गरेपनि त्यसबारे कुनै मन्त्रीले प्रतिक्रिया दिएका छैनन्। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा महाअभियोग प्रस्तावमाथि छलफल भयो भएन भन्ने बारेमा मन्त्रीहरु मौन बसेका हुन्। बैठक पछि बाहिरिने क्रममा कुनै पनि मन्त्रीले यसबारेमा बोल्न चाहेनन्।
स्रोतका अनुसार, बैठकमा महाअभियोग प्रस्तावमाथि पर्याप्त छलफल भएको थियो। उपप्रधान तथा अर्थमन्त्री कृष्ण बहादुर महराले बैठकमा नियमित विषयमा मात्रै छलफल भएको भन्दै महाअभियोग प्रस्तावको विषय बैठकमा नउठेको बताए।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले भने बैठकमा भारतीय सहयोगमा नेपालमा संचालित योजना कार्यान्वयनका लागि संयन्त्र बनाउने विषयमा कुराकानी भएको जानकारी दिए।
बिहीबार दुई पटकसम्म स्थगित भएको मन्त्रिपरिषद् बैठक शुक्रबार बसेको हो।