पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आफ्नो धारणा परिवर्तन गर्दै अख्तियार प्रमुख लोकमानसिंह कार्कीमाथिको महाअभियोग सफल बनाउनु पर्ने बताएका छन्।
भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले शुक्रबार विज्ञप्ति निकालेर अख्तियार प्रमुख कार्कीविरुद्धको महाअभियोग संसदले सफल बनाउने विश्वास लिएको जनाएको छ।
यसअघि नेता भट्टराईले लोकमानलाई महाअभियोग लगाउने कुराको विरोध गर्दै अख्तियार प्रुमखबाट 'अमुक' व्यक्तिलाई हटाउनुभन्दा लोकपालको व्यस्था गर्नुपर्ने बताउँदै आएका थिए। केही समयअघि ट्वीटरमा उनले लेखेका थिए, 'अख्तियारको अमुक व्यक्ति हटाउनु सट्टा सो संस्थालाई नै वढी स्वायत्त, निष्पक्ष,शक्तिशाली,संसदप्रति जिम्मेवार 'लोकपाल' बनाउने अभियान चलाउने कि?'
अख्तियार प्रमुखमा कार्की नियुक्त भएदेखि नै भट्टराईले उनको बचाउ गर्दै आएका थिए। रायामाझी आयोगले प्रतिवेदनमा कार्की जनआन्दोलन दबाउन भूमिका खेलेका भन्दै कारबाही सिफारिस गरेको थियो। तर यसलाई वेवास्ता गर्दै डा.भट्टराईले कार्की अनुभवी र कुशल प्रशासक भएको भन्दै अख्तियार प्रमुख बनाउनु उपयुक्त भएको तर्क गरेका थिए।
तर शुक्रबार प्रकाशित विज्ञप्तिमा भने कार्कीलाई 'शक्तिशाली संवैधानिक निकायको नेतृत्वमा बसेको गलत व्यक्ति' भएको टिप्पणी गरिएको छ।
प्रवक्ता खिमलाल देवकोटाले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, 'संसदीय समितिले बोलाउँदा नजाने, न्यायपालिकाको काममा समेत अवरोध खडा गर्ने जस्ता गतिविधिले सुशासन र पारदर्शीता कायम गर्न र भ्रष्टाचार उन्मूलन गर्न गठन भएको शक्तिशाली संवैधानिक आयोगको नेतृत्वमा भएको व्यक्ति गलत छ भन्ने कुरालाई स्पष्ट पार्दछ। संवैधानिक अंगमा बहाल रहेका कुनै पनि अधिकारीले आफ्नो पदीय आचरणविरुद्ध काम गरेको खण्डमा महाभियोग लगाउन र त्यसको छिनोफानो गर्न सार्वभौम संसद् सक्षम छ भन्ने हाम्रो विश्वास छ।'
पूर्वप्रधानमन्त्री भट्टराई आफैं सांसद भने छैनन्। संविधान सभामा तत्कालीन एमाओवादीबाट निर्वाचित भएका उनले नयाँ संविधान जारी भएलगत्तै एमाओवादी र संसद सदस्यता त्यागेका थिए।
विज्ञप्तिमा आयोगको प्रमुखमा कार्कीलाई नियुक्ति गर्नु त्रुटीपुर्ण रहेको पुष्टी भएको उल्लेख छ। यो विज्ञप्तिमार्फत पनि नयाँ शक्तिले लोकपालको व्यवस्था गर्ने माग दोहोर्याएको छ।