तस्बिर सौजन्य: पहिलोपोष्ट डटकम
अख्तियार प्रमुख लोकमानसिंह कार्कीको घरमा म्याद टाँस्न गएका सर्वोच्च अदालतका तामेलदारलाई अवरोध गर्ने समूहको नेतृत्व उनकै कान्छा ज्वाइँ प्रवल थापाले गरेको थाहा भएको छ।
सोमबार बिहान सर्वोच्चका दुई तामेलदार लोकमानको पुरानो बानेश्वरस्थित घरमा म्याद टास्न पुग्दा त्यहाँ करिव एक दर्जन युवाले अवरोध गरेका थिए। सो समूहले त्यहाँ म्याद टाँस्न नदिने भन्दै टाँस्ने भए अख्तियारमै गएर म्याद टाँस्न धम्क्याएका थिए।
यो समाचारको फोटोमा क्याप र कोठे सर्ट लगाएका (रातो गोलो भित्र) ब्यक्तिले म्याद टाँस्न अवरोध गर्ने समूहको नेतृत्व गरेका थिए। उनी लोकमानका कान्छी छोरी आकृती कार्कीका श्रीमान् हुन्। राप्रपा नेपालका अध्यक्ष कमल थापाका भान्जा प्रवल नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्य समिति सदस्य हुन्। गत १३औं महाधिवेशनबाट उनी काठमाडौं कांग्रेस जिल्ला कार्य समितिमा चुनिएका हुन्।
सेतोपाटीले फोन गरेर 'तपाईँले किन सर्वोच्चको म्याद टाँस्न तामेलदारलाई अवरोध पुर्याउनु भएको हो?' भनी सोध्दा थापाले आफू म्याद टाँस्ने ठाउँमा नगएको र अवरोध पनि नपुर्याएको दावी गरे।
सेतोपाटीले तपाईँ त्यहाँ उपस्थित भएको फोटो हामीसँग छ भन्दा थापाले सो फोटो आफ्नो नभएको जिकिर गरे। सेतोपाटीले उनीसँग २ बजेर ५३ मिनेटमा कुरा गरेको थियो। थापाले त्यसको ५ मिनेटपछि २ बजेर ५८ मिनेटमा आफ्नो फेसबुकको एकाउण्ट 'सन्स्पेण्ड' गरे। फेसबुकमा थापाका प्रशस्त फोटा थिए, जुन यहाँ प्रकाशित फोटोसँग मिल्छन्। थापाको फेसबुक एकाउण्ट facebook.com/prabal.thapa अहिले पनि 'सस्पेण्डेड' छ। त्यसको केही समयपछि थापाले अाफ्नी श्रीमती अाकृतिको फेसबुक एकाउन्ट पनि सस्पेण्ड गरेका छन्।
प्रवल थापा एन्फाका पूर्व अध्यक्ष तथा राप्रपा नेपालका सांसद गणेश थापाका भान्जा पनि हुन्। गणेश थापाविरूद्धको भ्रष्टाचार मुद्धामा उनलाई अख्तियारले सफाई दिएको थियो। जबकी अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले उनलाई भ्रष्टाचारको अभियोगमा कारबाही गरेको थियो।
प्रवल थापा र उनकी श्रीमती मामा गणेश थापाका साथमा।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा नियुक्त हुन कार्कीको वैधानिकता नपुगेको भन्दै अदालतमा दर्ता भएको पुरानो मुद्धाको पुनरावलोकन गर्ने सर्वोच्चको निर्णयपछि कार्कीलाई अदालतमा उपस्थित हुन म्याद टाँस्न लागिको थियो।
अख्तियार प्रमुख कार्की देशबाहिर रहेकाले अदालतमा उपस्थितिका लागि उनको पुरानो बानेश्वरमा रहेको घरमा म्याद टाँस्न सर्वोच्चले तामेलदारलाई खटाएको थियो।
अधिवक्ता ओममप्रकाश अर्यालले दायर गरेको कार्कीविरुद्धको मुद्धा सर्वोच्च अदालतले पहिले खारेज गरेको थियो। एक महिनाअघि प्रधानन्यायाधीश सुशिला कार्कीसहितको इजलाशले लोकमानको मुद्धा पुनरावलोकन गर्ने निर्णय गरेको थियो।
पुनरावलोकनको निर्णयलगत्तै अख्तियार प्रमुख कार्की आफ्नो पूर्वनिर्धारित भ्रमणमा क्यानडा गएका थिए। सरकारी भ्रमण सकिएपछि उनी विदा लिएर पछिल्लो एक महिनादेखि क्यानडामै बसिरहेका छन्।
उनको घरमा म्याद टाँस्ने सर्वोच्चको प्रयास बारम्बार असफल हुँदै आएको छ। यसअघि म्याद टाँस्न सर्वोच्चले पठाएका तामेलदार म्याद नटाँसी दुई हप्तासम्म सर्वोच्चको सम्पर्कबाहिर बसेपछि अदालतले सोमबार अर्का दुई तामेलदारलाई म्याद टाँस्न पठाएको थियो।