नेपाली काँग्रेसकी नेतृ एवं पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइरालाले नाकाबन्दीको पीडा बिर्सेर नेपालले भारतसँगको सम्बन्ध सुमधुर बनाउनुपर्ने बताएकी छन्।
काँग्रेस नेतृ कोइरालाले भारतसँगको सम्बन्ध सुमधुर बनाएर अगाडि बढ्नु नेपालको बाध्यता भएको बताईन्। जीपी कोइराला फाउण्डेशनले नेपाल भारत सम्बन्धलाई लिएर शनिबार काठमाडौंमा गरेको कार्यक्रममा काँग्रेस नेतृ कोइरालाले नाकाबन्दीको पीडा कोट्याएर नेपाललाई कुनै फाइदा नहुने बताएकी हुन्। उनले पुरानो कुरा कोट्याउनुभन्दा आफूलाई लागेको कुरा नहिच्किचाइ प्रष्टसँग राखेर भारतसँगको सम्बन्ध सुमधुर बनाउनु नै नेपालको हित रहेको बताईन्।
काँग्रेस नेतृ कोइरालाले भारत र पाकिस्तानबीच तिक्ततापूर्ण सम्बन्धका कारण सार्कको १९ औं शिखर सम्मेलन स्थगित भएकाले दुई मुलुकको सम्बन्धमा सुधार ल्याउन सार्कका अन्य सदस्य मुलुकले भूमिका खेल्नुपर्ने बताईन्। उनले सार्कको अध्यक्ष राष्ट्रका नाताले भारत र पाकिस्तानको सम्बन्धमा सुधार ल्याई सार्क सम्मेलन हुने वातावरण बनाउन नेपालले पहल गर्नुपर्ने पनि बताईन्।