बिहिबार बिहान उज्यालो नहुँदै भारतले काश्मिरस्थित पाकिस्तान नियन्त्रित भूभागमा ५ घण्टा लामो ‘सर्जिकल अपेरशन’ गरेको दावी गरेपछि यी दुई देशबीच युद्धको सम्भावना बढेको छ।
पाकिस्तान नियन्त्रित काश्मिरका विभिन्न क्षेत्रमा एकै पटक गरिएको आक्रमणबाट ‘आतंकवादी र उनीहरूका संरक्षक’ तर्फ निकै क्षति भएको भारतीय सेनाले बताएको छ। सैन्य भाषामा ‘सर्जिकल अपरेशन’ भन्नाले सीमित क्षेत्रमा शत्रुलाई लक्षित गरी गरिने आक्रमण हो।
उता पाकिस्तानले भने भारतले दावी गरे जस्तो कुनै ‘सर्जिकल अपरेशन’ नभई सीमाबाट पाकिस्तानतर्फ सेनालाई लक्षित गरी गोली प्रहार भएको बताएको छ। आफूले उक्त भारतीय आक्रमणको ‘गतिलो जवाफ’ फर्काएको पनि उसको दावी छ । उक्त घटनामा आफ्ना दुई सैनिक मारिएको र केही घाइते भएको पाकिस्तानले स्वीकारेको छ।
भारतीय सैन्य कारबाहीसँगै दुई देशबीचको तनाव नयाँ चरणमा प्रवेश गरेको छ। आणविक अस्त्रले सज्जित दुबै मुलुक युद्धमा होमिने त्रास बढेको छ । भारत र पाकिस्तान भित्र आ–आफ्ना सरकारलाई ‘आक्रमणकारी विदेशी शक्ति’ विरुद्ध नझुक्न दबाब सृजना भएको छ।
तर पूर्ण युद्धबाट जोगिन भारत र पाकिस्तान दुबै देश सचेत भने देखिन्छन्।
भारतले ‘सर्जिकल अपरेशन’ सकिएको र त्यसलाई निरन्तरता दिने पक्षमा आफू नरहेको जनाएको छ। उता पाकिस्तानले पनि भारतीय आक्रमणको गतिलो जवाफ फर्काएको बताएको छ।
तर, पाकिस्तानले बदलामा भारतमाथि तुरन्तै कुनै सैन्य कारबाही गरेमा भने उनीहरु युद्धमा होमिने खतरा बढ्नेछ। दुबै देशमा ‘हार्डलाइनर’ हरू हावी हुँदै गएका छन्। दुबै मुलुकमा एक अर्कासँग नझुक्न चर्को जनदबाब सिर्जना भएको छ।
भारत र पाकिस्तानबीच अहिलेसम्म ४ वटा युद्ध भइसकेका छन्। पछिल्लो युद्ध सन् १९९९ मा कारगिलमा भएको थियो जसको प्रभाव भने निश्चित क्षेत्रमा सीमित थियो।
अहिले भारतले गरेको ‘सर्जिकल अपरेशन’को पृष्ठभूमि भने दुई हप्ताअघि भारत नियन्त्रित कश्मिरको युरीस्थित भारतीय सैनिक क्याम्पमा भएको आक्रमण हो। त्यसमा १८ जना भारतीय सैनिक र ४ जना आक्रमणकारीको निधन भएको थियो।
आक्रमणकारीलाई पाकिस्तानले सैन्य प्रशिक्षण दिएको, उनीहरुले पाकिस्तानी हतियार प्रयोग गरेको, र पाकिस्तानी भूमिबाट उनीहरु भारत प्रवेश गरेको दावी भारतले गरेको छ।
तर, पाकिस्तानले भने उक्त कुरा खण्डन गरेको छ। भारतको कश्मिरमा अहिले भैइरहेको विद्रोहको भारतले कठोर दमनको नीति लिएकाले त्यसको प्रतिक्रिया स्वरूप काश्मिरबाट नै उक्त प्रतिरोध भएको हुन सक्ने पाकिस्तानको दावी छ । विगत केही महिनादेखि कश्मिरमा भैरहेको प्रदर्शनमा ७० भन्दा बढीको मृत्यु भएको छ। सयौं घाइते भएका छन् भने दर्जनौं दृष्टिविहीन भएका छन्।
तर भारतले भने काश्मिर विद्रोह मात्र होइन आफ्नो सैनिक क्यापमा भएको आक्रमणको योजना पनि पाकिस्तानको सहयोगमा भएको दावी गरेको छ।
त्यसो त भारतमा इस्लामिक आतंककारीद्वारा आक्रमण भएको यो पहिलो पटक होइन। गत जनवरीमा पठानकोट हवाई सेनाको क्याम्पमा इस्लामिक विद्रोहीसँग चार दिन लामो भिडन्त भएको थियो, जसमा सात सुरक्षाकर्मी, छ विद्रोही र एक भारतीय नागरिक मारिएका थिए। त्यस्तै सन् २००१ मा भारतीय संसद भवनमा र २००८ मा मुम्बईको ताज होटलमा भयानक आक्रमण भएका थिए।
भारतले त्यस्ता सबै आक्रमण पाकिस्तानको सहयोगमा भएको दावी गर्ने गरेको छ । तर पाकिस्तानविरुद्ध जवाफी कारबाही गर्दा त्यसले पूर्ण युद्धमा लैजान सक्ने हुनाले भारतले ‘स्ट्राटेजिक रस्ट्रेन्ट’ (रणनीतिक धैर्यता) को नीति अवलम्बन गर्दै आएको बताउने गरेको छ । पूर्ण युद्धबाट ठुला मानवीय र भौतिक क्षति मात्र होइन अर्थतन्त्र समेत ध्वस्त हुन सक्ने हुनाले भारतले त्यस्तो नीति लिएको भारतका नीतिकारहरुको भनाइ हुन्छ l
‘स्ट्राटेजिक रस्ट्रेन्ट’ अन्तर्गत पाकिस्तानलाई आतंकवाद निर्यात गर्ने देशका रूपमा प्रचार गर्ने, उसलाई नंग्याउने र अन्तर्राष्ट्रिय मञ्चमा एक्ल्याउने भारतको नीति रहेको थियो । भारतको त्यस्तो नीतिले एक किसिमको सन्तुलन समेत ल्याएको थियो।
तर भारतीय राजनीतिमा नरेन्द्र मोदीको उदय सँगै ‘स्ट्राटेजिक रस्ट्रेन्ट’को नीतिले निरन्तरता पाउन गाह्रो हुने धेरै विश्लेषकको भनाइ थियो। मोदीको विदेश नीति आक्रामक छ।
‘ग्रेटर भारत’को नीति पक्षपोषण गर्ने मोदीले ताइवान र भारतस्थित तिब्बती निर्वासित सरकार प्रमुखलाई आफ्नो सपथ ग्रहणमा निम्त्याएर वा चीनसँग विवादित रहेको अरुणाञ्चल प्रदेशको मुद्धा उचालेर चीनसँगको सम्बन्धलाई तनावपूर्ण बनाए। उनी अमेरिकासँग नजिकिए। सायद त्यसैकारण पाठनकोट आक्रमणका योजनाकारका रूपमा आरोपित इस्लामिक संस्था जैस ए मोहमद प्रमुख मसुद अजहरलाई आतंकवादीका रुपमा सुचिकृत गर्ने प्रयासलाई संयुक्त राष्ट्र संघमा चीनले असफल बनाइदियो।
उसो त मोदी र उनको भारतीय जनता पार्टीले चुनावमा समेत कंग्रेस सरकारले पाकिस्तानप्रति नरम नीति लिएको र आफ्नो दल सरकारमा गए पाकिस्तानप्रति कडा नीति लिने प्रतिवद्धता नै व्यक्त गरेका थिए। चुनावमा उक्त पार्टीको घोषणा थियो– मोदी प्रधानमन्त्री भए पाकिस्तानबाट आतंककारीले भारतीय भूमि प्रवेश गर्ने हिम्मत समेत गर्ने छैनन्।
कश्मिरमा प्रदर्शन निरन्तर र व्यापक बन्न थालेपछि भारतीय प्रधानमन्त्री मोदीले भारतीय स्वतन्त्रता दिवसको दिन पाकिस्तानको पृथकतावादी बालुचस्तान आन्दोलनको मुद्धा उठाएका थिए। त्यसबाट पाकिस्तानलाई चिढाएको थियो l मोदीको राष्ट्रवाद र भारतमा निरन्तर आर्थिक वृद्धिले पनि भारतको नीतिमा परिवर्तन आएको केही विश्लेषकको भनाइ छ। उनी सत्तामा आएपछि भूराजनीतिक सन्तुलनमा पनि प्रष्टरुपले परिवर्तन आउन थालेको थियो।
भारतले गरेको 'सर्जिकल अपेरेशन'ले भारतको पाकिस्तान नीतिमा परिवर्तन आएको विश्लेषकको दावी छ। अब दुई देशबीचको तनाव कसरी बढ्छ भन्ने कुरा भारतीय सैन्य कारबाहीको थप जवाफ पाकिस्तानले तुरुन्तै दिन्छ वा दिन्न भन्ने कुराले निर्धारण गर्ने देखिन्छ।