संविधानसभाको दोस्रो निर्वाचन धान काट्ने माचोमा पर्दा यहाँ किसानले कामदार पाउन सकेका छैनन्। दुई चार दिनमै काट्न नसके धान झर्ने र बाला भुईंमा लत्रिसक्ने भन्दै चिन्ता पनि गरेका छन्।
मधेसका बारा, पर्सा र रौतहटबाट हजारौंको संख्यामा आउने कामदारहरुमध्ये कताकति फाट्टफुट्ट मात्र देखिन्छन्। छठ मान्नासाथ कामदार आइहाल्छन् भन्ने यहाँका खेतधनीहरुलाई लागेको थियो।
‘एकातिर चुनाव पर्यो, अर्कातिर (नेपाल) बन्द पनि भयो,’ पार्वतीपुर गाविस, वार्ड ४ का व्यवसायी दिनेशकुमार श्रेष्ठले गुनासो गरे, ‘हाम्रो जिल्लाका हजारौं बिघामा लगाएका धान नोक्सानी हुन लाग्यो। यसको जिम्मा कसले लिन्छ?’
बन्दकर्ता नेकपा (माओवादी)लाई चुनावी प्रक्रियामा किन नल्याइएको हो भन्ने प्रश्न पनि उनले गरे। उक्त पार्टीले बन्द गर्दा धान काट्ने कामदार ल्याउन नसकिने भएको दोष चुनावमा भाग लिने पार्टीहरुले लिनुपर्छ कि पर्दैन भन्ने प्रश्न पनि उनले गरे।
श्रेष्ठको आफ्नै तीन बिघा खेतमा लगाएको धान काट्न बाँकी छ। उनका अनुसार पाँच दिनभित्र अब काट्न नसके बाला भुईंमा लत्रिसक्छ, नभए धेरै धान झरिसक्छ। उनले ६० जनाका दरले पाँच दिनका लागि कामदार पर्खिरहेका छन्।
पार्वतीपुरको सडकछेऊ पहेँलपुर धानका गह्रातिर देखाउँदै उनका बुबाले भने, ‘यतिबेला यो फाँटमा बीसौं हजार कामदार हुन्थे। किन आएनन् कोही? कहाँ गए भनेर सोधपुछ गर्नुको सट्टा तपाईंहरु चुनावमा कसले जित्छ भन्दै बुझ्न आउने हो?’
उनका अनुसार करिब तीस प्रतिशत कामदार आएर काट्न लागेका थिए। छठ मान्न घर फर्किए। त्यसपछि चुनावले छोप्यो, यता कमाउने मौका थियो। आउन चाहनेहरु बन्दले गर्दा रोकिनपुगे। उनी जंगिए, ‘यसरी धान खेर गयो भने सरकारका कर्मचारी, प्रहरी, सेनाले पनि केही खान पाउलान् र?’
चितवनमा प्रायः ओआर भन्ने जातका धान लगाउने गरेको पाइन्छ। किसानहरुका अनुसार त्यो धान छिटो झर्छ।
त्यसैगरी पटिहानी गाविस– ४ सुन्दरवस्तीका जीवनाथ अधिकारी पनि खेततिरै समस्या देखाउँछन्। उनले भने, ‘जनताले वर्ष दिन खाने कुरा खेतमा छ, को किसान भोट हाल्न जाला?’
उनी अझ रिसाए, ‘बम राखेका होलान्, यस्तो बन्द छ, बन्दबीच यस्तै समाचार सुनिन्छ, नेताको पो बीमा होला, जनताको के होला?’
उनको आफ्नै डेढ विघा खेतमा धान काट्नुपर्ने छ। भुईंमा बालाले छुन्छ भन्ने चिन्ता दोहोर्याउँदै उनले थपे, ‘मधेसी जनशक्ति रोप्न पनि आउँछन्, काट्न पनि आउँछन्, यसपाली धान पाकिसक्दा पनि तपाईंहरुले कतै कामदार देख्नुभयो त?’

मधेसी कामदार नपाएपछि फुलवारी गाविस– १ का न्यापाने परिवारले मकवानपुर, लोथरतिर एकजना नाइके मार्फत प्रजा जातिका कामदार झिकायो। मकवानपुरको काँकडा गाविस, वडा ७, काम्लेदेखि दिलबहादुर प्रजाको नेतृत्वमा १३ जना किशोरहरु आइपुगे।
एक साताका लागि आएका प्रजाहरु चुनावका लागि गाउँ फर्किनुपर्नेछ। अरुका खेतमा पनि काम पाउनेछन् तर चुनावले तानिसकेको छ। दिलबहादुर भन्छन्, ‘चुनावअघि यहाँको धान काटिसके राम्रो हुन्छ होला, नत्र त सबै नुहिन्छ, पछि काट्न गाह्रो हुन्छ होला।’
उनलाई काम दिने परिवारका युवक दिवस न्यौपानेका अनुसार पोहोर परारझैं बारा, रौतहटतिरका कामदार आउन मानेनन्। चुनाव सकेर मात्र आउँछु भनेका छन्। ‘त्यतिबेलासम्म झर्ला भन्ने पीर छ,’ उनी भन्छन्।
त्यसैगरी फुलवारीकै अर्काे किसान परिवारका युवक ध्रुवराज पौडेलले आफ्नो एक बिघा खेतको धान काट्न १० हजार रुपैया ठिक्क पारेका थिए। मधेसी कामदार आएका भए त्यति रुपैयाँमा काट्नेदेखि चुट्नेसम्म सिनित्ति पारिदिन्थे।
चितवनभित्रै भने खेतमा रत्तिने जनशक्ति छैन। नाइके भाग लिनेहरु भने छन्। खेताला भनिने कामदार खोजिदिनेले दिनको दस प्रतिशतका दरले खेतधनीसँग ठेक्का लिने चलन छ। जस्तो एक कामदारले एक दिनको चार सय रुपैया पाउँछ भने ४० रुपैया नाइके भाग छुट्याउनुपर्ने हुन्छ।
कामदार खोजिदिए वापत् त्यस्तो भाग लिनेहरु मात्र भेटिन्छन्। तर त्यस्ता भागीहरु पनि कामदार नपाउँदा खिन्न हुन पुगेका छन्।