पाकिस्तानमा हुने भनिएको सार्क (दक्षिण एसियाली क्षेत्रिय सहयोग संगठन) को १९ औं शिखर सम्मेलनमा सबै सदस्य राष्ट्र सहभागी हुने वातावरण बनाउन नेपाले आग्रह गरेको छ। परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै अध्यक्ष राष्ट्रको हैसियत आगामी नोभेम्बर ९ र १० मा इस्लामावादमा हुने भनिएको शिखर सम्मेलनमा भारत, बंगलादेश, अफगानिस्तान र भुटानले सहभागिता जनाउन नसक्ने अवस्था आएकोप्रति गम्भीर भएको बताएको छ। ‘अध्यक्ष हैसियतको राष्ट्रले शिखर सम्मेलनमा सबै सदस्य सहभागी हुन सक्ने वातावरण छिटोभन्दा छिटो बनाउन नेपाल आग्रह गर्दछ’ विज्ञप्तिमा भनिएको छ।
केही दिनअघि भारत प्रशासित काश्मिरको उरीमा सैनिक क्षेत्रमा भएको हमलामा १७ भारतीय सैनिक मारिएपछि भारतले सो हमलामा पाकिस्तानको हात रहेको भन्दै मंगलबार भारतले इस्लामावाद शिखर सम्मेलनमा नजाने बताएको थियो। भारतले सम्मेलन सहभागिता नजनाउने भनेसँग अफगानिस्तान, बंगलादेश र भुटानले पनि सम्मेलनमा सहभागिता नजनाउने पत्र नेपाललाई पठाएका थिए।