इजरायलका पूर्व राष्ट्रपति तथा प्रधानमन्त्री सिमोन पेरेसको ९३ वर्षको उमेरमा निधन भएको छ। नोबेल शान्ति पुरस्कारबाट सम्मानित पेरेजको बुधबार बिहान इजरायली अस्पतालमा निधन भएको उनका छोरा चेमीले सार्वजनिक गरे। पक्षघातका कारण टाउकोमा रक्तसंचार बढेपछि उनलाई दुई साताअघि अस्पताल भर्ना गरिएको थियो। ‘दुःखका साथ आज हाम्रो प्रिय पिताजीलाई बिदाई गर्नु परिरहेको छ। उहाँ इजरायलको नवौं राष्ट्रपति हुनुहुन्थ्यो,’ चेमी पेरेसले भने।
ज्युज राष्ट्रलाई विश्व समूदायसँग एकाकार गराउन र शान्तिको ढोका खोल्न पहल गरेका कारण पेरेजलाई १९९४ मा नोबेल शान्ति पुरस्कारबाट सम्मानित गरिएको थियो।
उनको निधनप्रीत प्रधानमन्त्री बेन्जामिन नेतेन्याहुँले दुःख व्यक्त गरे। उनले आजको मन्त्रिपरिषद् बैठकमा विशेष समय छुट्टाएर शोक प्रस्ताव पारित गर्ने र पेरेसको अन्त्येष्टीका लागि विशेष कमिटी गठन गर्ने बताए। पेरेसको अन्त्येष्टीमा विश्वका नेताहरू उपस्थित हुने आशा गरिएको छ।
अमेरिकी राष्ट्रपति बाराक ओबामाले पनि पेरेसको निधनप्रति शोक व्यक्त गरेका छन्। उनले पेरेसलाई ‘धर्तीपुत्र’ को संज्ञा दिएका छन्। ओबामाको कार्यकालमा सन् २०१२ मा पेरेसले राष्ट्रपति अवार्ड पनि प्राप्त गरेका थिए। पेरेसका छोरी ज्वाई चिकित्सक राफी वाल्डेनले कुनै असहज बिना उनको निधन राती भएको बताए।
अमेरिकाका पूर्व राष्ट्रपति बिल क्लिन्टन तथा हाल अमेरिकाको राष्ट्रपतिय निर्वाचनमा डेमोक्राटिकतर्फकी उम्मेदवार हिलारी क्लिन्टनले आफूहरूले विश्वासिलो र भरपर्दो साथी गुमाएको प्रतिक्रिया दिएका छन्। अमेरिकाका पूर्व राष्ट्रपति जर्ज बुस सिनियर र जुनियर दुवैले शोक व्यक्त गरे।
सात दशक राजनीतिमा सक्रिय पेरेसका कारण युद्धरत इजरायल सम्बृद्ध देशमा परिवर्तित भएको थियो। उनले इजरायलको अर्थ व्यवस्थालाईसन् १९८० मै ‘थ्री डिजिट’ मा पुर्याएका थिए।
सिमोन पेरेसको खास नाम सिमोन पेरेस्की हो। उनको जन्म पोल्यान्डको भिसेनेभामा सन् १९२३ अगस्ट २ मा भएको थियो। उनी ११ वर्षको उमेरमै आफ्नो परिवारसँग सन् १९३४ मा पेलेस्टाइनमा बसाइँ सरेका थिए। लेबर पार्टीको सदस्यता लिएपछि उनी पहिलो भेटमै इजरायलका पहिलो प्रधानमन्त्री बेन गुरेनको आँखामा जचेका थिए।
उनलाई २९ वर्षको कलिलो उमेरमै इजरायलको रक्षा मन्त्रालयको निर्देशक बनाइएको थियो। उनको १० वटा किताब सार्वजनिक छ।