नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले प्रदेशको सिमाङ्कनको विवाद चाँडै अन्त्य गरेर निर्वाचनमा जानुको विकल्प नरहेको बताएका छन्।
स्थानीय निकाय पुनसंरचना आयोगले सिफारिस गरेको ५६५ स्थानीय निकायको सङ्ख्या अव्यावहारिक रहेको भन्दै पूर्व उपप्रधान तथा स्थानीय विकास मन्त्रीसमेत रहेका नेता सिंहले हाल देशभर रहेको ९२७ इलाका क्षेत्रलाई आधार मानेर निर्धारण गरिएमा समस्या समाधान हुने तर्क राखे।
नेपाली काँग्रेस टोखा नगरपालिका वडा नं ११, १२, १३, १४ र १५ द्वारा संयुक्तरुपमा विजयादशमी, दीपावली, छठ र नेपाल सम्बत्को उपलक्ष्यमा आज आयोजना गरेको शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रममा बोल्दै नेता सिंहले स्थानीय निकायको निर्वाचनका लागि तयार रहन कार्यकर्तालाई निर्देशन समेत दिए।
नेता सिंहले भने “संविधान कार्यान्वयका लागि चैतसम्ममा स्थानीय निर्वाचन गर्नुपर्ने भएकाले पार्टीलाई पहिलो बनाउन वडा र इकाइदेखि जनताको मन जित्ने गरी काम गर्नुपर्नेमा जोड दिए। सो अवसरमा नेता सिंहले नेपाली काँग्रेस टोखा नगरपालिका वडा नं १४ र १५ को कार्यालयको समेत उद्घाटन गरे।
कार्यक्रममा नेपाली काँग्रेसका सभासद भीमसेनदास प्रधानले संविधान संशोधन नगरी निर्वाचन सम्भव नभएकाले चाँडोभन्दा चाँडो संविधान संशोधन गरेर स्थानीय निकायको निर्वाचन गर्नुपर्ने बताए।
कार्यक्रममा नेपाली काँग्रेस काठमाडौँका सभापति सबुज (कृष्ण) बानियाँले काँग्रेस कमजोर भएमा देश कमजोर हुने भन्दै काँग्रेसको नेतृत्वमा घोषणा भएको संविधानलाई कार्यान्वयन गर्न लाग्नुपर्ने बताए। रासस