रक्षामन्त्री बालकृष्ण खाँणले नेपाल सानो देश भए पनि विविधतामा एकता भएको बताउँदै नेपालमा दिगो शान्ति सबैको सहमति, सहकार्य र समझदारीबाट मात्र कायम हुने कुरामा जोड दिएका छन्।
स्थानीय शान्ति समिति रुपन्देहीले आज यहाँ आयोजना गरेको अन्तर्राष्ट्रिय शान्ति दिवस—२०७३ को अवसरमा द्वन्द्वप्रभावित व्यक्ति, परिवारका लागि दशदिने सिलाइकटाई, उत्पादन सीपमूलक तालिम समापन एवम् पूर्व संयोजकको सम्मान कार्यक्रममा बोल्दै मन्त्री खाँणले सो कुरा बताएका हुन्।
कार्यक्रममा बोल्दै उनले नेपालमा रहेको विविधतालाई संयोजन गरी मुलुकमा कसरी शान्ति स्थापना गर्ने भन्ने ठूलो चुनौती रहेको बताए।
शान्तिका लागि नेपालका राजनीतिक पार्टी, सामाजिक सङ्घ संस्था मिलेर सहमति र सहकार्यमा अगाडि बढ्नुपर्नेमा उनको जोड थियो ।
मन्त्री खाँणले भने, “संङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई कसरी मुलुक र जनताको पक्षमा रुपान्तरण तथा कसरी मुलुकको शान्ति र परिवर्तनलाई सस्थागत गर्न सकिन्छ हामी अब त्यसतर्फ लाग्नुपर्छ।”
स्थानीय शान्ति समितिको आयोजनामा द्वन्द्वप्रभावित व्यक्ति तथा परिवारका लागि विभिन्न सीपमूलक तालिम प्रदान गरिएको छ। यसका साथै द्वन्द्वप्रभावितको व्यवस्थापन, हिंसा र न्यूनीकरण, द्वन्द्वप्रभावित तथा राज्यको बीचमा सेतुको काम गरी शान्ति स्थापना गर्न सहयोग पु¥याएको भन्दै समितिका पूर्व संयोजकलाई सम्मानसमेत गरिएको छ।
यसरी सम्मानित हुनेमा स्थानीय शान्ति समितिका पूर्व संयोजक एवम् रुपन्देही क्षेत्र नं– १ का सांसद अब्दुल रज्जाक, लिला गिरी, माधव शर्मा, महेन्द्र यादव, जगन्नाथप्रसाद कुर्मी, सञ्जयकुमार गुप्ता, आनन्दप्रसाद गुप्ता र ज्ञानु पौडेल छन्। रासस