नेपाल विद्यार्थी सङ्घले उच्चस्तरीय शिक्षा आयोग गठन गर्न पहलकदमी लिने भएको छ ।
यही भदौ १० र ११ गते बसेको नवनिर्वाचित केन्द्रीय समितिको बैठकका निर्णयबारे जानकारी दिन आज उहाँ आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष नैनसिंह महरले मुलुकको समग्र शिक्षा प्रणाली सुधार्ने नेविसङ्घको पहिलो प्राथमिकता रहेको बताए।
अध्यक्ष महरले कुनै पनि विद्यार्थी नेताले सङ्घलाई जानकारी नदिई आफूखुसी पैसा उठाए कडा कारबाही गरिने बताए। उनले ग्रामीण क्षेत्रमा प्रारम्भिक बालविकास तह स्थापनाका लागि नेविसङ्घले पहल गर्ने उल्लेख गरे।
सम्मेलनमा नेविसङ्घले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन तोकिएकै समयमा सम्पन्न गर्न दबाबस्वरुप जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको जनाएको छ ।
नेविसङ्घले विभिन्न विश्वविद्यालयमा नियुक्त गरिने उपकुलपति, शिक्षाध्यक्षलगायत नियुक्त गर्दा भागबन्डाको आधारमा भन्दा प्रतिस्पर्धाका आधारमा गर्नुपर्ने निर्णय गरेको सम्मेलनमा जानकारी दिइयो ।
बैठकले नेविसङ्घको ११ औँ महाधिवेशन सम्पन्न गर्न सहयोग गर्ने नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, महाधिवेशन निर्देशन समितिका संयोजक डा प्रकाशशरण महत, सदस्य गोविन्द भट्टराई, किशोरसिंह राठौर, गुरुराज घिमिरे, प्रदीप पौडेल र निवर्तमान सभापति रञ्जीत कर्ण तथा उहाँको कार्यसमितिलाई धन्यवाद ज्ञापन गरेको छ ।
यसैगरी बैठकले कानुनभन्दा धेरै शुल्क लिएर कक्षा सञ्चालन गरेका विद्यालयमाथि छानबिन गरी कारबाही गर्न पहल गर्ने निर्णय गरेको अध्यक्ष महरले बताए। नेविसङ्घको विधान २०२७ को छैटौँ संशोधन २०७३ अनुरुप व्यवस्था गरिएको दुई वर्षमा गरिनुपर्ने महाधिवेशन सुनिश्चित गर्न तत्काल ‘क्यालेण्डर’ प्रकाशन गर्ने निर्णय गरेको जानकारी दिइयो । रासस