आसन्न संबिधानसभाको निर्वाचन आउँन दुई सातामात्रै बाँकी रहँदा एकीकृत माओबादी गोरखा क्षेत्र नंं १ ले निर्वाचन आचारसंहिता बिपरीत ‘बिकासे योजना’ सहितको ‘बुक लेट’ (सानो आकारको पुस्तक) सार्वजनिक गरी गाउँ–गाउँ पु¥याएको छ ।
एमाओबादी उम्मेद्वार डा. बाबुराम भट्टराई प्रधानमन्त्री र अर्थमन्त्री रहँदा लागू भएका बिकासे कार्यक्रमहरु बुँदागत रुपमा टिपोट गरी एमाओबादी क्षेत्र नं. १ को प्रचारप्रसार समितिले थप बिकासका आश्वासन थपेर उक्त चुनाबी ‘बुक लेट’ निर्माण गरी गाउँ पु¥याएको हो । ‘डा. बाबुराम भट्टराईलाई नै भोट किन ?’ शीर्षकको १४ पृष्ठ लामो उक्त ‘बुक लेट’ मा बजेट भाषणमा शीर्षक छुट्याए झै गरी बिकासे योजनाहरु छुट्याइएको छ । गोरखा जिल्लाको समग्र बिकासको लागि डा. भट्टराईलाई बिजयी गराउन गरिएको बुक लेटमा स्थानीय बिकासलाई प्राथमिकताका साथ सञ्चालन गरिने प्रतिबद्धता समेत एमाओबादीले जनाएको छ ।
बुढीगण्डकी, दरौंदी, त्रिशूलीजस्ता ठूला नदी किनारका टारहरुमा लिफ्ट सिचांइ गर्ने, जिल्लाको उपर्युक्त ठाउँमा शीत भण्डार निर्माण गर्ने, कृषि बिमा योजना, सर्वसुलभ कृषि ऋणको ब्यबस्था, जडीबुटी उत्पादन गर्न बन उपभोक्ता समितिलाई प्रोत्साहन गर्ने, गोरखामा अलैंची, अदुवा, केरा लगायत फलफूलको उत्पादन, संकलन, प्रशोधन गरी बजारको ब्यबस्था गर्ने, गोरखा नगरपालिकाको बिस्तृत गुरुयोजना बनाएर योजनाबद्ध बिकास गर्ने, गोनपाभित्रका टारहरुमा औद्योगिक क्षेत्र निर्माण गर्ने, मनकामना, गोरखकाली दरबारलाई ऐतिहासिक–धार्मिक पर्यटनस्थलको रुपमा बिकास गर्ने, बेनीघाट–आरुघाट–लार्के सडक तिब्बतसंग जोड्ने सहित अन्य सात सडक पाँच बर्षभित्र कालोपत्रे गर्ने लगायतका आश्वासन सहितको बिकासे योजना उक्त ‘बुक लेट’ मा छ ।
गोरखा क्याम्पसलाई बहुमुखी बनाउने र, जिल्लालाई नै ‘एजुकेशन हव’ को रुपमा बिकास गर्नेका लागि पहल गर्ने जस्ता शैक्षिक कार्यक्रम पनि एमाओबादीले चुनाबी बुक लेटमा उल्लेख गरेको छ ।
मकैसिङ गाबिसमा १५ शैयाको अस्पताल निर्माण गर्ने, सीमान्तकृत र लोपोन्मुख जातिको संग्रहालय र उनीहरुका छोराछोरीका लागि आवासिय बिद्यालय स्थापना गर्ने, सदरमुकाममा सभागृह, अतिथिगृह, अपाङ्गहरुका लागि बालगृह, ब्यायामशाला, रंगशाला, बृद्धाश्रम निर्माण गर्ने जस्ता बिकासे योजनाहरु समावेश गरी एमाओबादीले चुनाबी बुक लेट निर्माण गरेको चुनाबप्रचारप्रसार समितिका संयोजक यानप्रसाद भट्टले जानकारी दिएका छन् ।
‘उम्मेद्वारको पर्चामा बिकासका कार्यक्रम उल्लेख गरेका छौ’ उनले भने, ‘हतार–हतार निर्माण गर्नु परेकाले सबै योजना समावेश गर्न सकिएको छैन ।’ बिकासे कार्यक्रम लामो भएकाले पर्चा जस्तो नदेखिएर किताब जस्तो देखिएको उनले तर्क गरे । ‘त्यो उम्मेद्वारको चुनाबी पर्चा हो’ उनले भने, ‘रुपन्देही ४ मा पनि त्यहाँको प्रचारप्रसार समितिले यस्तै बिकासे कार्यक्रम सहितको पर्चा बनाएको छ भन्ने सुनेको छु । गोरखा १ मा पनि हामीले त्यस्तै बनाएका हौ ।’ बुक लेटमा समाबेश भएका कार्यक्रमहरु जनताको माग अनुसार प्राथमिकताको आधारमा लागू गर्दै लैजाने भट्टको भनाइ छ ।
तर, एमाओबादीले निर्माण गरेको उक्त बुक लेट निर्वाचन आचारसंहिता बिपरीत रहेको जिल्लास्थित निर्वाचन कार्यालयले जनाएको छ । ‘उम्मेद्वारले यो गर्छु, त्यो गरिदिन्छु भनेर बिकासका कुरा गरेर जनतालाई प्रलोभन दिन पाइदैन । यस्तो गरियो भने त्यो आचारसंहिताको घोर उलंघन हुन्छ’ निर्वाचन अधिकारी अशोक कोइराला भन्छन्, ‘घोषणापत्रमा समावेश नभएका कार्यक्रमहरु झन् प्रस्तुत गर्न समेत पाइदैन ।’
तस्विर: एमाओबादी नेता डा. भट्टराई ।
साथमा बुक लेट फोटो । तस्विर: प्रशन्न पोखरेल, गोरखा ।