निर्वाचन आयोगले तयार पारेको मतदाता परिचय पत्र मतदानको दुई दिन अघिसम्म देशभरका मतदाताको हातमा पुर्याउने बताएको छ।
निर्वाचन आयोगका एक उच्च अधिकारीले सेतोपाटीलाई बिहिबार दिएको जानकारी अनुसार आयोगले शनिबारसम्ममा मतपत्र छाप्नेकार्य सकेर वितरणको शुरु गर्नेछ।
अहिलेसम्म आयोगका पदाधिकारीको बैठकले परिचयपत्र कसरी मतदाताको हातमा पु–याउने भन्ने आधिकारीक निर्णय गरिसकेको छैन। तर पनि आयोगले मंसिर २ गते अगावै महानगरपालिका र नगरपालिकाहरुमा सम्वन्धित नगरपालिकाका वडा कार्यालय र गाविसमा सम्वन्धित गाविस कार्यालयहरु मार्फत वितरण गर्ने योजना बनाएको छ।
नगरपालिका र गाविस कार्यालयबाट परिचयपत्र वितरण गर्दा छुटेका मतदाता लगायत अन्य मतदातकालागि निर्वाचनकै दिन मतदान केन्द्रस्थल बाहिर वितरण गराउने छ।
आयोग स्रोतका अनुसार, आयोगले सम्बन्धित मतदान केन्द्रमा खटिएका कर्मचारी र मतदाता शिक्षामा खटिएका स्वयम् सेवकहरु मार्फत मतदाता परिचय पत्र वितरण गर्ने योजना बनाएको छ। आयोगका अनुसार यसपाला मतदाता संख्या १ करोड २१ लाख भन्दा बढि छ।
यसैविच आयोगले प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणाली तर्फको मतपत्र सम्बन्धित जिल्ला निर्वाचन कार्यालयहरुमा पु–याईसकेको जानकारी आयोगले दिएको छ ।