परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले राजदूत नियुक्तिको प्रक्रिया चाँडै नै अगाडि बढाइने बताएका छन्।
रिपोर्टस क्लबले शनिबार काठमाडौंमा गरेको साक्षात्कारमा परराष्ट्रमन्त्री डा. महतले राजदूत नियुक्तिका लागि आफूले छलफल सुरू गरिसकेको समेत बताए। उनले शुक्रबार मात्र मन्त्री नियुक्त भएका हुन्।
मन्त्री डा. महतले कूटनीतिक नियोगहरूलाई लामो समयसम्म खालि राख्नु हुँदैन भन्नेमा आफू स्पष्ट रहेको भन्दै भारत, चीन लगायतका मुलुकमा चाँडै नै राजदूत नियुक्त हुने बताए। भारत, चीन लगायतका एक दर्जन भन्दा बढी मुलुकमा राजदूतको पद खाली छ।
अघिल्लो सरकारले विभिन्न मुलुकमा राजदूत नियुक्तिका लागि गरेको सिफारिस तीन साता पहिले बसेको मन्त्रिपरिषद बैठकले फिर्ता लिएको थियो। परराष्ट्रमन्त्री डा. महतले सरकार परिवर्तन भएको अवस्थामा राजनीतिक व्यक्तिहरूलाई राजदूत बनाउन गरिएको सिफारिस फिर्ता लिइनु स्वभाविक भएको बताए।