सर्वोच्च अदालतबाट कर्तव्य ज्यानमुद्दामा सर्वस्वसहित जन्मकैद फैसला सुनाइएका एकीकृत नेकपा माओवादी नेता बालकृष्ण ढुंगेलको समानुपातिक उम्मेदवारी खारेज गरिरहँदा त्यस्तै प्रकृतिको अर्को मुद्दामा भने निर्वाचन आयोग निरीह देखिएको छ। उम्मेदवारीमाथि प्रश्न नउठाइएपछि मधेसी जनअधिकार फोरम लोकतान्त्रिक मोरङ क्षेत्र नं २ बाट उम्मेदवारी दिएका जयराज संयोक लिम्बूलाई निर्वाचन कानुनले छेक्न सकेन।
ज्यान मुद्दामा लिम्बूलाई सर्वोच्च अदालतले २०६६ साल भदौ १ गते पाँच वर्षको सजाय फैसला गरेको थियो । उनको उम्मेदवारीमा दाबीबिरोध र कुनै उजुरी नपरेकाले छानबिन नगरिएको निर्वाचन आयोगले जनाएको छ ।
‘दाबीबिरोधको समय सकियो तर कतैबाट उजुरी आएन,’ जिल्ला निर्वाचन कार्यालय प्रमुख झंकनाथ शर्माले सेतोपाटीसँग भने, ‘त्यसैले छानबिन गरिएन ।’ मोरङ बयरवन गाविस ६ का शेखर राईलाई पटक–पटक खुकुरी प्रहार गरी ज्यान लिन खोजेको आरोपमा सजाय फैसला गरिए पनि लिम्बू जेल बस्न नपर्ने ‘विशेष सुबिधा’ लिएर संविधानसभा निर्वाचनको उम्मेदवार बनी भोट मागिरहेका छन् ।
स्थानीयका अनुसार जयराजको अघिपछि सयौं ‘ट्यापे’ र ‘कुन्डलेमुन्डले’ हुन्छन् । क्षेत्र नं. २ मा चुनावी प्रचारप्रसारमा उनीहरूलाई पैसा दिएर भीड पारिने गरिएको छ । ‘सित्तैमा पैसा आउँछ भने किन नजाने र, जयराजसँग टन्नै पैसा रहेछ !,’ पथरीका एक युवाले भने, ‘एकचोटी जाँदा हजारसम्म आउँछ, दिनभरि घरमा बस्यो केही कामै छैन । भोट त पछि जसलाई हाले पनि भैगो नि !’
२०५३ सालमा खुकुरी प्रहार गरी ज्यान मार्न खोजेको आरोपमा लिम्बूलाई सर्वोच्चका तत्कालीन न्यायाधीश तपबहादुर मगर र गिरीशचन्द्र लालको इजलासले जयराजले ‘पटक पटक खुकुरी प्रहार गरी ज्यान लिन खोजेको’ भन्दै पाँच वर्षको कैद गराएको थियो । ‘अपराधी उम्मेदवार बन्न पाउँदैनन् भनी आदर्श छाँट्ने निर्वाचन आयोगले अपराधीको लिस्टसम्म राख्दो रहेनछ,’ पीडितको पक्षमा वकालत गरेका कानुन व्यवसायी जयन फुयाँलले भने, ‘जयराजको मुद्दा र बालकृष्ण ढुंगेलको मुद्दा उस्तैउस्तै हो, अदालतले अपराधी भनेर ठह¥याइएका व्यक्ति कसरी उम्मेदवार बन्न पाउँछन् ?’
निर्वाचन कानुन अनुसार सर्वस्वसहित जन्मकैद फैसला अदालतबाट अन्तिम भएको , भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचविखन, लागूऔषध, वितरण तथा निकासी, सम्पत्ति शुद्धिकरण, राहदानी दुरुपयोग र अन्तिम फैसला गरेका व्यक्ति उम्मेदवार बन्न अयोग्य रहनेछन् । आयोगद्वारा निर्वाचनमा खटाइएका न्यायाधीशले भने यो कानुनको फरक व्याख्या गर्न खोजेका छन् ।
‘निर्वाचन कानुनमा जन्मकैद सजाय सुनाएकाले मात्र उम्मेदवारी दिन नपाउने भनिएको छ,’ क्षेत्र नं. २ का निर्वाचन अधिकृत शंकर खत्रीले भने, ‘जयराजको हकमा यो लागू हुन सक्दैन, उनले ज्यान मार्ने उद्योगमात्र गरेका हुन् ।’
घटनाको तेह्र वर्षसम्म मुद्दाको पुर्पक्ष चलिरहँदा जयराज एकै दिन हिरासत बसेनन् । बाबु शुक्रराज कांग्रेसबाट राष्ट्रिय सभाका सदस्य हुँदाको फाइदा जयराजलाई भयो । कांग्रेस राम्रो पहँुच राख्ने शुक्रराजकै कारण कांग्रेस सरकारमा हुँदा जयराजको मुद्दा फिर्ता भएको थियो । तर अदालतले नै गम्भीर प्रकृतिको मुद्दा फिर्ता लिन नमिल्ने भनेपछि त्यो निर्णय रोकियो ।
जनआन्दोलनपछि मधेसी जनअधिकार फोरम लागेका जयराज विजयकुमार गच्छदारका ‘दाहिने हात’ मानिन्छन् । गच्छदारले पार्टी फुटाउँदा उनी त्यतै लागे । गच्छदार पटक–पटक मन्त्री बन्दा उनी ‘सहायक मन्त्री’जस्ता भए । पछिल्लो समय गच्छदारले उपप्रधान तथा गृहमन्त्रालय सम्हाल्दा लिम्बू उनका ‘पिए’ थिए । गच्छदार गृहमन्त्रीको हैसियतमा हिँडडुल गर्दा, सुरक्षा सम्मेलनमा सहभागी बन्न जाँदा लिम्बू अघिपछि हुन्थे । प्रहरीले उनलाई फरार सूचीमा राखिरह्यो तर पक्रन सकेन ।