नवनियुक्त सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीले कर्मचारीलाई आग्रह र पूर्वाग्रही नराखी ढुक्क भएर काम गर्न निर्देशन दिएका छन्।
सिंहदरबारमा सामान्य प्रशासन मन्त्रालयको पदभार ग्रहण गरेपछि मन्त्री बुढाथोकीले निर्देशन दिँदै भने – “म कुनै आग्रह र पूर्वाग्रहमा सञ्चालिन हुने छैन । क्षमताका आधारमा काम गर्नुहोस् । मेरो साथ हुन्छ ।”
योग्य र क्षमता भए पनि पहुँच नपुगेर पछाडि परेका कर्मचारीलाई अगाडि बढ्न आग्रह गर्दै उनले पछि परेका कर्मचारीको मनोबल उठाउन आफूले प्रयास गर्ने बताए।
उनले क्षमताका आधारमा कर्मचारीलाई पुरस्कार र दण्डको व्यवस्था गरिनेसमेत जानकारी गराए।
“परिश्रमी कर्मचारीलाई पुरस्कार दिइनेछ । काम नगर्ने कर्मचारीलाई दण्डको पनि व्यवस्था हुन्छ” – उनले भने।
मन्त्री बुढाथोकीले राजनीतिक र प्रशासनिक क्षेत्रले देश चलाउने बताउँदै दुवैको समन्वयमा मात्र मुलुकले अगाडि बढ्ने जानकारी गराए।
मन्त्री बुढाथोकी विसं २०७० मा भएको संविधानसभाको निर्वाचनमा झापा क्षेत्र नं ५ बाट प्रत्यक्ष प्रणालीमार्फत निर्वाचित हुनुभएको हो । विसं २०२४ मा विद्यार्थी आन्दोलनबाट राजनीतिक यात्रा सुरु गरेका मन्त्री बुढाथोकीले नौ महिना जेलजीवनसमेत बिताएका छन्।
झापाको शनिश्चरे–२ मा विसं २००१ जन्मनुभएका मन्त्री बुढाथोकी पञ्चायती व्यवस्थाअन्तर्गतको अन्तिम मन्त्रिपरिषद्मा जलस्रोत सहायक मन्त्री भएका थिए।
पदभार समारोहमा मन्त्रालयका सचिव टङ्कमणि शर्माले मन्त्रालयमा भइरहेका र आगामी कार्यहरुका बारेमा जानकारी गराएका थिए । रासस