नवनियुक्त वन तथा भू संरक्षणमन्त्री शङ्कर भण्डारीले वन मन्त्रालयअन्तर्गतका विभागको संरचनालाई व्यवस्थित गर्न निर्देशन दिएका छन्।
आज मन्त्रालयमा पदबहाली गर्दै मन्त्री भण्डारीले कर्मचारीलाई नियमित कार्यालयमा आएर आफ्नो कामकारबाही गर्न आग्रह गरेका हुन्।
उनले भने, “तपाइँलाई समस्या परेमा आफ्नो उचित र जायज माग मलाई भन्नुहोस् मैले गर्नसक्ने समाधान गर्छु तर इमान्दार भएर काम गर्नुहोस् ।”
मन्त्री भण्डारीले वन तथा भू क्षेत्रको विकास र विस्तारका लागि मन्त्रीपरिषद्को वैठकमा खेल्नुपर्ने भूमिका खेल्न आफु तयार रहेको प्रतिवद्धता व्यक्त गरे । उनले भूकम्पपछिको पुननिर्माणमा काठको आवश्यकता रहेको हुँदा आफ्नो कार्यकालमा काठ उपलब्ध गराउने विश्वास व्यक्त गरे।
मन्त्री भण्डारीले सामुहिक प्रयत्नमार्फत सबै समस्या समाधान हुने भन्दै सबैलाई एकजुट भएर काम गर्न आग्रह गरे । उनले मन्त्रालयको कार्यप्रगतिको बारेमा समय समयमा समिक्षा गर्नु आवश्यक रहेको बताए।
रासस