माओवादीले पतिको हत्या गरेपछि सक्रिय राजनीतिमा होमिएकी सीतादेवी यादव माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालको मन्त्रिपरिषदमा एक्ली महिला मन्त्री बनेकी छन्।
यसअघि माओवादीले राधिका तामाङलाई कृषि विकास राज्यमन्त्री र धनमाया बिकलाई विनाविभागीय राज्यमन्त्री बनाएको छ।
संयोगको कुरा, माओवादी द्वन्द्वमा मारिएका तथा बेपत्ता पारिएकाहरूको सत्यनिरुपण तथा मेलमिलापमाथि छानबिन भइरहेका बेला मन्त्री बनेकी यादवले शान्ति मन्त्रालयको जिम्मा पाएकी छन्।
गत वर्ष कांग्रेसको १२औं महाधिवेशनबाट कोषाध्यक्षमा निर्वाचित भएकी यादव त्यसअघि नेपाली कांग्रेसको सिराहा जिल्ला सभापति थिइन्। भारत मोतिहारीमा ६१ वर्षअघि जन्मेकी यादवको सक्रिय राजनीतिको सुरुआत २०५७ पछि भएको हो।
उनका पति चन्द्रनारायणको २०५७ असार ५ गते मर्निङ वाक गएका बेला हत्या भएको थियो। पतिको हत्या हुनुअघि उनी कांग्रेसकी क्रियाशील सदस्य मात्र थिइन्। उक्त घटनापछि भने यादव कांग्रेसको जिल्ला नेतृत्वमा होमिइन्। उनलाई सक्रिय राजनीतिमा ल्याउन कांग्रेसका तत्कालीन सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ठूलो हात रहेको उनका छोरा डा. सुवासचन्द्र बताउँछन्।
‘उहाँलाई राजनीतिमा ल्याउन गिरिजाबाबुको ठूलो हात छ,’ डा. सुवासचन्द्रले शुक्रबार सेतोपाटीसँग भने, ‘उहाँले नै ०६३ सालमा आमालाई अन्तरिम सांसदमा मनोनयन गर्नुभएको हो।’
२०६३ मा अन्तरिम सांसद बन्नुअघि यादव २०५८ सालदेखि सिराहा कांग्रेसकी सभापति बनिसकेकी थिइन्। २०६४ सालको संविधानसभा चुनावमा उनी सिराहा– ३ बाट पराजित भएकी थिइन्। २०७० को दोस्रो संविधानसभामा भने उनी सोही क्षेत्रबाट विजयी भइन्।
पार्टीको राजनीतिमा भने उनले फड्को मार्न सकेकी थिइनन्। गत वर्ष केन्द्रीय कोषाध्यक्ष हुनुअघिसम्म उनी पार्टीको सिराहा सभापति थिइन्। तीन कार्यकाल जिल्ला सभापति हुने उनी पहिलो एकल महिला भएको डा. सुवास बताउँछन्।
गत वर्ष काठमाडौंमा भएको कांग्रेस महाधिवेशमा यादव नेता रामचन्द्र पौडेल पक्षबाट कोषाध्यक्षकी उम्मेदवार बनेकी थिइन्। उनी १ हजार २ सय १७ मत ल्याएर विजयी बनेकी थिइन्।
शान्ति मन्त्रालयको जिम्मेवारी सम्हालेकी यादव द्वन्द्व व्यवस्थापनकै लागि माओवादी नेतृत्वको सरकारमा गएको छोरा सुवासले बताए। ‘हाम्रो बुवाको हत्या त माओवादीबाट भएको हो तर सधैं हिंसाका कुरा मात्र सम्झेर हुँदैन,’ उनले भने ‘बरु द्वन्द्वका बेला भएका अरू हामीजस्तै मान्छेका कुरा मिलाउन पनि उहाँ मन्त्री बन्नुभएको हो।’
लामो समयपछि सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगले भर्खरै आफ्नो काम सुरु गरेको छ। यी दुवै आयोगले देशभरबाट उजुरी संकलन गरिसकेका छन्। उजुरीमाथि प्रारम्भिक चरणको छानबिन जारी रहेको सम्बद्ध आयोगहरूले जनाएका छन्।
अबको काम भनेको ती उजुरीमाथि निष्पक्ष छानबिन गरेर दोषीलाई कारबाहीको दायरामा ल्याउन सिफारिस गर्नु हो। यसमा मन्त्रालयको भूमिका भनेको दुवै आयोगलाई काम गर्न सजिलो हुने गरी नियम–कानुन बनाइदिने हो, जुन अहिलेसम्म थाँती छ। अदालतमा विचाराधीन द्वन्द्वकालका मुद्दा आयोगले हेर्ने गरी तान्न मिल्ने कानुन बनाउनु अहिलेको सरकारको निम्ति महत्वपूर्ण एजेन्डा हो।
हेर्नुहोस् को को छन् मन्त्रीहरू