ज्वाइ ससुरा दाहाल मन्त्रिपरिषदका दुई मन्त्री
नवनियुक्त स्वास्थ्यमन्त्री गगन थापाले डा. गोविन्द केसी लगायत नागरिक समाजले उठाएको स्वास्थ्य शिक्षामा हुने भ्रष्ट्राचार अन्त्य गरिनुपर्ने माग सम्बोधन गर्नु आफ्नो नैतिक दायित्व भएको बताएका छन्।
नवनियुक्त स्वास्थ्यमन्त्री थापाले सपथलगत्तै शुक्रबार स्वास्थ्य मन्त्रालयमा पुगेर पद्भार ग्रहणका क्रममा स्वास्थ्य शिक्षामा भइरहेको भ्रष्ट्राचार रोक्न नागरिकस्तरबाट भइरहेको विरोधबारे आफू जानकार रहेको भन्दै त्यस्तो विरोधको स्वर कहिल्यै नउठ्ने गरी स्वास्थ्यको क्षेत्रमा सुधार गर्नु आफ्नो प्राथमिकता भएको बताएका हुन्।
मन्त्रालयका कर्मचारीहरुको स्वागतपछि कार्यकक्षमा पुगेर वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य सम्बन्धमा श्रम तथा रोजगार मन्त्रालयमा रहेको समितिमा विशेषज्ञ पठाउने टिप्पणी सदर गरेपछि संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिने क्रममा मन्त्री थापाले नागरिक आन्दोलनमा उठेको माग आफ्नो कार्यकालमा सम्बोधन गरेर सुधारको आभास दिलाउने बताए।
मन्त्री थापाले स्वास्थ्य क्षेत्रमा नहुनुपर्ने थुप्रै काम भइरहेको र हुनुपर्ने धेरै काम हुन नसकेको भन्दै आफ्नो ध्यान त्यसलाई चिर्नतर्फ केन्द्रीत हुने बताए। उनले स्वास्थ्य क्षेत्रमा स्रोत साधनको प्रभावकारी परिचालन गर्ने भन्दा पनि भ्रष्टाचार र कुशासन व्याप्त रहेको भन्दै त्यसको अन्त्य गर्नु पनि आफ्नो प्राथमिकता भएको बताउ।
स्वास्थ्य मन्त्री थापाले यसो भनिरहँदा स्वास्थ्य मन्त्रालयको अनुभव संगालिसकेका उनका ससुरा अर्जुननरसिंह केसी भने शहरी विकास मन्त्रालयमा कर्मचारीहरुलाई शहरी विकासका आफ्ना योजना सुनाइ रहेका थिए। नवनियुक्त शहरी विकास मन्त्री केसीले राजधानी काठमाडौं र ठूला शहरलाई व्यवस्थित गर्न बसाईं सराई रोक्ने कार्यक्रम ल्याउने बताए। उनले बसाईंसराईं रोक्नका लागि गाउँ गाउँमा नै पूर्वाधार विकास गरेर शहर बनाउन ध्यान केन्द्रीत गर्ने बताए।
शहरीविकास मन्त्री केसीले शहरी विकासका नयाँ कार्यक्रम तय गर्नुपहिले मन्त्रालयका योजनाहरु अध्ययन गर्ने बताए। यसअघि गृह मन्त्रालय नपाएको निहुँमा सपथ खान नमानेका केसीले स्वास्थ्य मन्त्रालय ज्वाईंलाई छोडिदिएर शहरी विकास मन्त्रालय रोजेका हुन्।
भिडियो