नेपाली कांग्रेसका तर्फबाट मन्त्री बनेका १३ जनाले शुक्रबार पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्। राष्ट्रपति भवन शितल निवासमा भएको सपथ ग्रहण समारोहमा नेपाली कांग्रेसका सबै मन्त्री दौरा सुरूवाल र कोटमा ठाँटिएर पुगेका थिए।
तीमध्ये १२ जना मन्त्रीले खैरो रङको कोट लगाएका छन् भने एक जना मन्त्रीले चेक कोट लगाएका छन्। अरूभन्दा फरक रङको कोट लगाएर सपथ ग्रहणमा पुगेका ती हुन्, बन तथा भूसंरक्षण मन्त्री शंकर भण्डारी।
औपचारिक कार्यक्रममा सधैँ राष्ट्रिय पोशाकमा देखिने मन्त्री भण्डारी किन आज अरूको भन्दा फरक कोट लगाएर शपथमा पुगे त?
‘मेरो नियति नै यस्तै छ, हिजो राति अबेर थाहा भयो’, भण्डारीले भने ‘नयाँ कोट लगाएर जाउँ भन्दा यस्तो कोट पर्यो।’
उनले आफू सधैँ पोशाकप्रति सचेत रहको भन्दै यसलाई हतारमा भएको गडबडका रूपमा बुझिदिन आग्रह गरे। भण्डारी कांग्रेसमा खुमबहादुर खड्का पक्षबाट मन्त्री बनेका हुन्।