निर्वाचन बिथोल्ने उद्देश्यले नेकपा–माओवादीले आह्वान गरेको १० दिने बन्दप्रति लक्षित गर्दै अन्तर्राष्ट्रिय समुदायले विरोध जनाएको छ ।
भारत, चीन, अमेरिका सहित २३ देशका तर्फबाट संयुक्त राष्ट्रसंघका आवासीय संयोजकले बुधवार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हिंसा वा हिंसाको धम्कीद्वारा गरिने बन्द हड्ताल राजनीतिक अधिकार तथा नेपालको कानूनविरुद्व छन्।’
वेलायत, अष्ट्रेलिया, जापान, बङ्गलादेश, ब्राजिल, ईयू, डेनमार्क, फिनल्याण्ड, फ्रान्स, जर्मन, दक्षिण कोरिया, मलेसिया, रसिया, नर्वे, श्रीलङ्का, स्विजरल्याण्ड, थाइल्याण्डका राजदूत राष्ट्रसंघ भवनमा भेला भई ‘शान्तिपूर्ण चुनावी अभियान रोक्ने कार्य गैरकानूनी हो’ भनेका छन्।
मोहन वैद्य नेतृत्वको माओवादीले कात्तिक २५ देखि मतदानको दिन मंसिर ४ गतेसम्म देशव्यापी बन्द आह्वान गरेको छ।
चुनावी सुरक्षा प्रदान गर्न हालसम्म प्रहरी तथा अन्य सुरक्षाकर्मी र गृह मन्त्रालयले दृढता तथा संयम देखाएको भन्दै अन्तर्राष्ट्रिय समुदायले प्रशंसा गरेको छ।
विज्ञप्ति पूर्ण पाठ जस्ताको तस्तै
मंसिर ४ को निर्वाचन आउन जम्मा १३ दिन बाँकी रहँदा यस प्रक्रियालाई सफल पार्न अन्तरिम सरकार, निर्वाचन आयोग, राजनैतिक दलहरु, सञ्चार माध्यम लगायत सम्पूर्ण सरोकारवालाहरुबाट भएका प्रयासहरुको हामी प्रशंसा गर्दछौं। विशेषतः निर्वाचन आचारसंहिता पालना गर्दै चुनावी अभियान सञ्चालन गरिरहेका हजारौं उम्मेदवारहरुको भूमिकाको हामी तारिफ गर्दछौं । अस्वीकार्य धम्की र अवरोधका बावजूद धेरै राजनितिज्ञहरु र उनीहरुका समर्थकहरु शान्तिपूर्ण र कानुन सम्मत चुनावी अभियान सञ्चालन गरिरहेका छन्।
नेपालीहरुको उम्मेद्वार वा मतदाताका रुपमा शान्तिपूर्ण ढंगले आफ्नो राय व्यक्त गर्ने अधिकारको अन्तर्राष्ट्रिय समुदाय समर्थन गर्दछ। शान्तिपूर्ण, खुला र समावेशी निर्वाचनमा भाग लिन पाउने लोकतान्त्रिक अधिकारको सबैले सम्मान गर्नुपर्दछ। हिंसा वा हिंसाको धम्कीद्वारा गरिने बन्द हड्ताल नागरिकका राजनैतिक अधिकार तथा नेपालको कानुन विरुद्ध छन्। अरुहरुका शान्तिपूर्ण चुनावी अभियान रोक्ने कार्य पनि गैह्रकानुनी हो। यस्ता कार्यमा संलग्न पक्षहरुले स्वतन्त्र निर्वाचन र अरुहरुका अधिकारको सम्मान गर्नुपर्दछ।
यस संवेदनशिल समयमा उत्तेजनाका बावजूद कर्तब्यनिष्ठ ढंगले चुनावी सुरक्षा प्रदान गर्न हालसम्म प्रहरी तथा अन्य सुरक्षाकर्मी र गृह मन्त्रालयले देखाएको दृढता तथा संयमबाट हामी उत्साहित भएका छौं।
प्रकाशित मिति: 2013-11-06 17:29:20