जीवनमा पहिलो पटक यसपालि मतदान गर्न लागेका युवा मतदाता उत्साह र कौतुहल लिएर मङ्सिर ४ गतेको प्रतीक्षा गरिरेहका छन्।
निर्वाचनबारे थाहा भएको तर उमेर नपुगेका कारण २०६४को निर्वाचनमा मतदान गर्न नपाएका युवायुवतीले यस पटक मतदान गर्न पाउने भएपछि उनीहरू निकै खुसी देखिन्छन् ।
जिल्लाको सिरुटार गाविसकी अनिता थापा यस पटक पहिलो पटक मतदान गर्न पाउने भएपछि खुसी लागेको बताउँछिन्, “यसपटक मतदान गर्न पाउने भएकोले म निकै उत्साहित भएको छु, बिहानै गएर मत खसाल्छु ।”
दधिकोट गाविसको अरनिको उच्च माविमा आएको घुम्ती शिविरमा मतदाता नामावलीमा नाम दर्ता गराएका प्रकाश न्यौपाने पनि मतदान गर्न पाउने भएकोमा उत्साहित छन्।
न्यौपानेले भने, “अन्तिम समयमा मतदाता नामावलीमा नाम दर्ता गर्न उमेर पुग्यो र नाम दर्ता गराइयो, मेरो जीवनमा पहिलो पटक भोट हाल्न पाउने भएकोमा खुसी र उत्साहित छु ।” आफ्नो भोट यस पटक खेर नजाने विश्वास गर्दै न्यौपानेले भने, “संविधानसभाको पहिलो निर्वाचनमा भोट हाल्नेको भोट खेर गयो, यो पटक मैलै पनि भोट दिँदैछु, संविधान बनाउनमा मेरो भोटको पनि भूमिका हुनेछ ।”
जिल्लाकै सुडाल गाविसकी सरस्वती थापाको पनि उस्तै भनाइ छ । थापाले भनिन, “गत संविधानसभा निर्वाचनमा उमेर नपुगेर भोट हाल्न पाइएन, यसपालि त भोट हाल्न पाइने भो, मेरो भोट संविधान बनाउन सक्ने पार्टीलाई जानेछ ।”
भक्तपुरमा महिलाको हित गर्ने र महिलाका लागि आवाज उठाउने उम्मेदवारलाई आफ्नो भोट जाने बताउँदै थापाले भनिन्, भोट मागेर गाउँ नफर्कने र गाउँको विकासमा चासो नदिने उम्मेदवारलाई म भोट दिन्न ।”
नगरकोट गाविसका अम्मर लामाले भने आफ्नो पहिलो भोट गाउँको विकासमा आवाज उठाउने र पर्यटनको विकासमा टेवा पुर्याउने उम्मेदवारलाई जाने बताए। उनले भने, “पहिलो पटक भोट हाल्न पाएकोमा औधी खुसी छु, मेरो भोट सडक, पर्यटन र गाउँको विकास गर्ने योजना लिएर आएका उम्मेदवारलाई जान्छ ।”
विगतका चुनावमा अरूले भोट हालेको हेरेर बस्दा पनि रमाइलो लाग्ने गरेको बताउने बालकोट गाविसका उमाकान्त खत्रीले यस पटक आफैँले भोट हाल्न पाउँदा झन खुसी लागेको बताउँदै “ पहिलो पटक भोट हाल्न पाउँदा उत्साहित छु र मेरो भोट खेर नजाओस् भनेर सचेत पनि छु” भने।
जीवनको पहिलो भोट खसाल्न बिहान ६ बजे नै गएर लाममा बस्ने योजना बनाएका लामा आफूले बिहान भोट हालेपछि दिउँसो अरूले भोट खसालेको रमाइलो हेर्ने सुरमा छन् ।
जिल्लाको चाँगु गाविसका सरिता गँडाले पनि आफू पहिलो पटक भोट हाल्न पाएकोमा खुसी भएको बताइन्। “गाउँमा भोट माग्न आउनेहरूले एक भोट मलाई है भनेका छन्, हाम्रो गाउँ विकट छ, गाउँको विकास गर्न प्रतिबद्ध उम्मेदवारलाई भोट दिन्छु, मेरो भोट विकासका लागि हो”, गँडाले भनिन् ।
छालिङ गाविसका श्याम हात्ती, भक्तपुर नगरपालिका बोलाछेंकी अनिता खर्बुजा, थिमी नगरपालिकाका रामहरि तकों, व्यासीका उमेश बोहजु पनि पहिलो पटक भोट हाल्न पाएकामा उत्साहित भएको बताउँछन् ।
ताथली गाविसकी रेणुका बस्नेतले भोट माग्न आउने सबै उम्मेदवारको घोषणापत्र र प्रतिबद्धतापत्र हेरेको बताउँदै जसले राम्रो प्रतिबद्धता जनाएका छन् त्यही उम्मेदवारलाई आफ्नो भोट दिने बताइन्।
आफ्नो भोट जनताको सेवा गर्ने, विकासका योजना ल्याउने र संविधान बनाउन सक्ने पार्टीलाई मात्र जाने बताउने यी युवामा जनता झुक्याउने, संविधान बन्न नदिने र भ्रष्टाचार बढाउने पार्टीलाई आफ्नो भोट नजाने अठोट् पाइन्छ । रासस