सुर्खेतको सदरमुकाम वीरेन्द्रनगरको मुख्य बजारमा आज बिहान दुईवटा बम भेटिएका छन्।
अज्ञात व्यक्तिले राखेका ती बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । ती बमहरू आइइडी नामको भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक प्रकाश अधिकारीले जानकारी दिनुभयो।
मिरमिरे उज्यालोमा नै स्थानीयवासीले सो ठाउँमा बम भएको शङ्का गरेपछि प्रहरी टोलीले त्यहाँ सुरक्षा दिएको थियो । बम भएको थाहा पाएपछि सर्वसाधारण सशङ्कित भएका थिए।
दैलेखको कार्यक्रमबाट बिहीबार सुर्खेत आउनुभएका एनेकपा (माओवादी) का वरिष्ठ नेता बाबुराम भट्टराईलाई दृष्टिगत गरी बम राखिएको हुन सक्ने प्रहरीले आशङ्का गरेको छ। नेता भट्टराई बिहानै काठमाडौँ फर्किन विमानस्थल जाँदा त्यही बाटो आउने थाहा पाएपछि नेकपा–माओवादीले त्यहाँ बम राखेको हुनसक्ने अनुमान प्रहरीको छ। भट्टराईलाई प्रहरीले स्कटिङ् गरेर अर्को बाटो विमानस्थल पुराएको थियो।
नेकपा–माओवादीले आफ्ना कार्यकर्ताहरू पक्राउ गरिएको विरोधमा आज सुर्खेत पूर्ण रूपमा बन्द गराएको छ । बन्दका कारण सुर्खेतमा बजार, सवारीसाधन पूर्णरूपमा ठप्प भएका छन् । सडकका चोकमा नेकपा–माओवादीका कार्यकर्ताहरू बाक्लो मात्रामा उपस्थित भएका छन् ।
नेकपा–माओवादीले एनेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल भोलि सुर्खेत आउने भएपछि १६ गते पनि सुर्खेत बन्द गरेको छ । विध्वंशात्मक कार्य गरेको भन्दै नेकपा–माओवादीका जिल्ला सह–सेक्रेटरी ईश्वरभक्त सुनार, अखिल नेपाल शिक्षक सङ्गठनका जिल्ला अध्यक्ष रगवीर विश्वकर्मा र जिल्ला सदस्य हरिलाल महतारालाई प्रहरीले पक्राउ गरी सार्वजनिक मुद्दा चलाएको छ । रासस