नेकपा एमाले उपाध्यक्ष बामदेव गौतमले सत्ता गठबन्धनलाई लिएर पानी बाराबारको अवस्थामा पुगेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकिकरण हुने दाबी गरेका छन्।
नेकपा एमालेका संस्थापक नेता स्व. पुष्पलालको ३८ औं स्मृति दिवसको अवसरमा राजधानीमा शनिबार आयोजित कार्यक्रममा एमाले उपाध्यक्ष गौतमले नेपालका कम्पयुनिष्ट पार्टीबीच एकता सम्भव रहेको भन्दै नेकपा माओवादी केन्द्रसँग एकीकरण हुने जिकिर गरेका हुन्।
प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारको साझेदार दल नेकपा माओवादी केन्द्रले व्यवस्थापिका संसदमा सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएपछि दुई पार्टीबीचको सम्बन्ध पानी बाराबारको अवस्थामा पुगेको छ। यद्यपि, गौतमले संविधानसभाको दोस्रो निर्वाचनअघि कयौंपटक आफूले पार्टीमा एकीकरणको प्रस्ताव पेश गरेको स्मरण गराउँदै त्यो सम्भव रहेको बताए।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता दीनानाथ शर्माले पुष्पलालकै विचारमा नेपालको सिंगो कम्युनिष्ट आन्दोलन भएको भन्दै जनयुद्धको जग पनि पुष्पलालकै विचारमा भएको उल्लेख गरे। कार्यगत एकताको विषयलाई स्पष्ट धारको रुपमा अगाडि लान नसके पनि जनयुद्धदेखि १२ बुँदे हँुदै अहिलेसम्म उनकै विचार प्रधान रहेको उल्लेख गरे।
कार्यक्रममा वाम नेताहरूले पुष्पलालले कम्युनिष्ट आन्दोलनमा पुर्याएको योगदान, दर्शन, चिन्तन र उनको प्रवृत्तिको बारेमा चर्चा गरेका थिए।