आसन्न नेपाल विद्यार्थी संघको महाधिवेशन विधानसम्मत हुनुपर्ने माग राख्दै पद्मकन्या क्याम्पसकी नेविसंघ सभापति साधना घिमिरेसहित पदाधिकारी कांग्रेस पार्टी कार्यालयमा रिले अनसन बसेका छन्।
उपसभापति संगीता थापा, सहसचिव पवित्रा गौली, सचिव छाया ढुगाना र सदस्य रेखा परियार रिले अनसनमा बसेका हुन्।
साउन २३, २४ र २५ गते हुन लागिरहेको नेविसंघ महाधिवेशनमा प्रतिनिधि छनोटमा तीव्र विवाद उत्पन्न भइरहेको छ। विधानअनुसार प्रतिनिधि छनोट नभएको भन्दै उनीहरूले त्यस्तो महाधिवेशनबाट नेतृत्व चयन पारदर्शी नहुने बताएका छन्।
तीन दिनदेखि नेविसंघ पदाधिकारी अनसनमा बस्दै आएका थिए। ‘अनसनरत विद्यार्थीको माग सम्बोधन गर्न पार्टी कुनै रुपमा तत्पर देखिएको छैन,’ सभापति घिमिरेले भनिन्।