सशस्त्र प्रहरीका डिएसपी र नेपाल प्रहरीका सईलाई नक्खु कारागारका असन्तुष्ट कैदीले सात घन्टा बन्दी बनाएका छन् । चौकीदारले महंगोमा सामान बेचेको र जेलर लगायतका लागि पैसा उठाएको भन्दै मंगलबार बेलुका सात बजे नक्खुका केही कैदी आन्दोलित भएका आजको नागरिक दैनिकमा खबर छ ।
वैशाख ९ गते चौकीदार परिवर्तन गरे पनि उनी पुरानै चौकीदारको व्यक्ति भएको भन्दै १५ जना कैदी र उनका समर्थकले चौकीदारसहित ६ जनालाई तत्काल जेल स्थानान्तर गर्नुपर्ने र जेलमा हुने गरेको भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने माग राख्दै जेलभित्रै आन्दोलन सुरु गरेका थिए ।
आन्दोलनकारीलाई सम्झाउन भन्दै नख्खु कारागारको सुरक्षामा खटिएको सशस्त्र प्रहरीका डिएसपी चेतराज जोशी र नेपाल प्रहरीका सई श्यामकुमार लिम्बु कारागारभित्र प्रवेश गरेपछि उनीहरुले ती दुवैलाई जेलभित्रै नियन्त्रणमा लिएर नख्खुको दुवै ब्लकमा ताल्चा लगाएर आफ्नो नियन्त्रणमा लिएका थिए ।
पूरै जेल कब्जामा लिनुअगाडि कैदीहरुले चौकीदार मोहन साहनीलाई कुटपिट गरेर कोठामा लगी थुनेका थिए । उनीहरुले चौकीदारलाई बाहिरबाट ताल्चा लगाएर भित्रै थुनेका थिए । उनीहरुको कब्जामा रहेका चौकीदारलाई मुक्त गरी अवस्था सामान्य बनाउन दुई जना प्रहरी कारागारभित्र छिरेका थिए ।
जेल स्रोतका अनुसार शृंखलाबद्ध अपहरणका नाइके अमर टण्डनले चौकीदारविरुद्ध अपहरण अभियोगमा कारागारमा रहेका नवराज सेढाई र प्रेमप्रकाश पुन लगायतकालाई परिचालन गरेका थिए । टण्डनले उक्साएर वातावरण बिगारेको सूचना पाए पनि प्रहरीले उनलाई भने नियन्त्रणमा लिएको छैन ।
झगडा मिलाउन गएको प्रहरी कर्मचारीलाई नियन्त्रणमा लिएर जेल पूरै कब्जामा लिएको सूचना आएलगत्तै महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी राजेन्द्रमान श्रेष्ठ थप प्रहरी टोली लिएर जेल पुगेका थिए । उनले चलाखीपूर्ण अप्रेसन गरी कैदीको कब्जामा रहेका दुवै प्रहरीलाई मुक्त गरी जेल सुरक्षाकर्मीको नियन्त्रणमा ल्याउँदा बुधबारको बिहान दुई बजेको थियो ।
आन्दोलनमा उत्रेका कैदीहरुको माग पूरा गर्ने आश्वासन दिँदै प्रहरीले उनीहरुलाई जेलबाहिर निकाल्न २० जना प्रहरी कारागारभित्र छिराउन उनीहरुलाई सहमत गराएर चलाखीपूर्ण रुपमा कैदीको कब्जामा रहेको जेल आफ्नो नियन्त्रणमा लिएका थिए ।
नख्खुमा ड्रग्स पुनस्र्थापन केन्द्र (डिआरसी) र सामाजिक पुनस्र्थापन केन्द्र(सिआरसी) गरी दुइटा ब्लकमा कैदी÷बन्दीलाई राख्ने गरिएको छ । दुवै ब्लकमा २ सय ५० को दरले करिब पाँच सय कैदी÷बन्दी कारागारमा छन् ।