संसदीय सुनुवाई विशेष समितिले सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरूको सुनुवाई सुरू गरेको छ।
समितिले बुधबार सर्र्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरूलाई बोलाएर सुनुवाई सुरू गरेको हो। न्याय परिषदले सिफारिस गरेअनुसार समितिले बुधबार बिहान दीपककुमार कार्की, केदारप्रसाद चालिसे र सारदाप्रसाद घिमिरेको सुनुवाई गरेको छ।
तीन जना प्रस्तावित न्यायाधीशको सुनुवाईपछि समितिको बैठक खाना खानका लागि भन्दै स्थगित गरिएको छ। खानापछि अपराह्न प्रस्तावित न्यायाधीशहरू मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको पनि सुनुवाई गरिने समितिका सभापति कुलबहादुर गुरुङले जानकारी दिए।
सर्वोच्च अदालतमा न्यायाधीश नियुक्तिका लागि न्याय परिषदले गत फागुन १८ गते ११ जनाको नाम सिफारिस गरेको थियो। संसदको नियमावली निर्माणमा भएको ढिलाईका कारण प्रस्तावित न्यायाधीशहरूको सुनुवाई न्याय परिषदले नाम सिफारिस गरेको पाँच महिनापछि मात्र भएको हो।