नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले बन्द सफल गराउन भन्दै ट्याक्सीमा आगजनी गरेपनि उपत्यकावासीले बन्दको प्रतिकार गरेका छन्।
उपत्यकावासीले आआफ्ना सवारीसाधन गुडाएर बन्दको प्रतिकार गरेका हुन्। सडकमा निजी सवारी साधन उल्लेख्य रुपमा गुडेका छन्। निजी सवारीसाधन उल्लेख्यरुपमा गुडे पनि सार्वजनिक सवारी साधनहरु भने फाटफुटरुपमा मात्र चल्दा सर्वसाधारणले ओहोरदोहोर गर्न सास्ती झेल्नुपरेको छ।
आम मानिसमा त्रास फैलाउनका लागि माओवादी कार्यकर्ताले सोमबार बिहान काठमाडौंको मिनभवन र गोंगबुमा दुई वटा ट्याक्सीमा आगजनी गरेका थिए भने ललितपुरको मंगलबजारमा एउटा ट्याक्सी तोडफोड गरेका थिए। ट्याक्सी जलाइएपछिको त्रासका कारण विद्यालयहरु खुलेनन्।
आगजनीमा संलग्न भएको अभियोगमा प्रहरीले माओवादीको मजदूर संगठनका अध्यक्ष योगेन्द्र कुमाललाई पक्राउ गरेको छ। प्रहरीले कुमालसँगै सवारीसाधन सञ्चालनमा अवरोध गर्न खोज्ने माओवादीका ६ दर्जन कार्यकर्तालाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको छ।