प्रधानमन्त्री केपी ओलीले राजीनामा गरेर ‘राजनेताको परिचय दिएको’ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बताएका छन्।
कांग्रेस र माओवादीले ल्याएको अविश्वास प्रस्तावमाथि छलफल क्रममा प्रधानमन्त्री ओलीले आफ्नो राजीनामा घोषणा गरेका हुन्। त्यसअघि नै उनले राष्ट्रपतिसमक्ष राजीनामा पेस गरिसकेका थिए।
स्रोतका अनुसार संसद बैठक सकिएपछि माओवादी अध्यक्ष दाहाल ओलीलाई भेट्न संसद भवनस्थित उनकै चेम्बर पुगेका थिए। त्यहाँ दुवैबीच अलिबेर कुराकानी भएको थियो। दुवैले तस्बिर पनि खिचाएका थिए।
दाहालले ओलीसँग आगामी दिनमा पनि सहकार्य हुनसक्ने बताए। विवाद नझिकी राजीनामा दिएर नयाँ सरकारलाई मार्गप्रशस्त गरेकामा उनले ओलीको प्रशंसा गरे। ‘तपाईंको यो कार्यले राजनेताको परिचय दिएको छ,’ दाहालको भनाइ उद्धृत गर्दै स्रोतले सेतोपाटीसँग भन्यो, ‘यसले तपाईंको प्रतिष्ठा नै बढाइदिएको छ। हामीबीच आगामी दिनमा पनि सहकार्य हुन सक्नेछ।’
ओलीले पनि दाहालको नेतृत्वमा बन्ने आगामी कार्यकालका लागि शुभकामना दिएका थिए।