अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय अगाडि प्रदर्शन गर्न गएका वरिष्ठ चिकित्सक गोविन्द केसीका समर्थकलाई प्रहरीले लाठी हानेको छ, केहीलाई धरपकड गरेको छ।
यसक्रममा करिब एक दर्जनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घम्साघम्सी हुँदा प्रदर्शनकारीलाई प्रहरीले लाठी हानेर लखेटेको थियो।
आइतबार ११ बजे चिकित्सक, नर्स, विद्यार्थी तथा सर्वसाधारण आयोग अगाडि प्रदर्शन गर्न गएका थिए। ठूलो संख्यामा परिचालित प्रहरीले जुलुशलाई टंगालस्थित भाटभटेनी सुपरमार्केट अगाडि नै रोकेको थियो।
प्रदर्शनमा उत्रिएकाहरूले सुरूमा ‘तपाईं किन पागल?’ भनी सोधिएको प्रश्नमा विभिन्न उत्तर दिए। कसैले ‘भ्रष्टाचारको विरोध गर्ने म पागल’, कसैले ‘सोलुखुम्बुमा स्वास्थ्य सेवा पुर्याउन खोज्ने म पागल’, कसैले ‘तीन करोड सदाचारीको न्याय चाहने म पागल’, भनेका थिए।
त्यसपछि सबैले ‘म पनि पागल, हामी पनि पागल’ भनेर नारा लगाउन सुरू गरेका थिए। ‘माफियाको मन्त्र, लोकमान तन्त्र’, ‘सांसदको घडीमा लोकमानको ब्याट्री’, ‘सबैतिर प्रष्ट छ, अख्तियारमै भ्रष्ट छ’, ‘लोकमान मुर्दावाद’, लगायत नारा लगाएका थिए।
पानीको फोहोरासहित नेपाल प्रहरीको टोली अग्रपंक्तिमा थियो। पछिल्तिर सशस्त्र प्रहरीको टोली तयारी अवस्थामा राखिएको थियो। नेपाल प्रहरीका दुई जना डिएसपीको कमाण्डमा रहेको प्रहरीले नाराबाजीपछि अगाडि बढ्ने क्रममा प्रदर्शनकारीलाई धरपकड र लाठी प्रहार गरेको थियो।
चिकित्सा क्षेत्र सुधारर अख्तियार दुरूपयोग अनुसन्धान आयोका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग माग गर्दै वरिष्ठ चिकित्सक केसी पन्ध्र दिनदेखि अनसनरत् छन्। चिकित्सा क्षेत्रमा आफ्नो र आफ्ना नातेदारको निहित स्वार्थमा भ्रष्टहरूसँग मिलेर कार्कीले हस्तक्षेप बढाएको भन्दै केसीले महाअभियोग माग गर्दै अनसन बसेका थिए।
केसीले महाअभियोग माग गरेपछि अख्तियारले उनलाई ‘पागल’ भनेको थियो। विरोधमा उत्रिएकाहरूले तीन करोड नेपालीको स्वास्थ्यको पक्षमा बोल्दा ‘पागल’ भनिएकाले आफूहरू पनि पागलै भएको भनेर प्रदर्शन गरेका थिए।
लामो समय बित्दा पनि केसीका माग पूरा नभएपछि उनको जीवन जोखिमपूर्ण बनेको छ। केसीको जीवनरक्षा र माग पूरा गर्न दबाब दिँदै शनिबार माइतीघरमा हजारौं उत्रिएका थिए।
नक्साल, टंगाल निषेधित क्षेत्र हैन तर त्यहाँबाट जुलुश आउनसक्ने सूचनाका आधारमा अगाडिदेखि नै प्रहरीको कब्जामा थियो। नक्सालस्थित प्रहरी प्रधान कार्यालय आसपासबाट अख्तियारको गेट र भागभटेनीसम्म प्रहरी राखिएको थिए।
हामी भाटभटेनीछेऊको मन्दिर बाहिर पुग्दा केही जनामात्र थिए। विस्तारै प्रदर्शनमा जनसंख्या थपिँदै गएको थियो। जुलुशमा सहभागीभन्दा धेरै प्रहरी देखिन्थे।
संख्या थपिन थालेपछि प्रहरीले आफ्नो अग्रसरता बढायो। नारा लाग्न थालिसक्दा प्रहरीले फोहोरा फ्याँक्ने गाडी तयार गरिसकेको थियो। आधा घन्टामा पटक–पटक ठेलमठेल भएको थियो। लाठी र ढाल बोकेको नेपाल प्रहरीको टोलीलाई प्रदर्शनकारीले धकेलेपछि प्रहरीले लाठी हान्न सुरू गरेको थियो।
प्रहरीले लाठी हानेपछि र केहीलाई नियन्त्रणमा लिएपछि पनि ‘भ्रष्टाचार अन्त्य गर, हामी पछि हट्दैनौं’ भन्दै प्रदर्शनकारी अगाडि बढ्न खोजेका थिए। ‘भ्रष्टाचार अन्त्यको माग गर्दा प्रहरीले हामीमाथि लाठी हानेको छ,’ जुलुशमा सहभागी सारा प्याकुरेलले सेतोपाटीसँग भनिन्, ‘प्रहरीको यो दमन बन्द होस्।’
भ्रष्टाचारबिरोधी को-को पक्राउ परे?
पक्राउ पर्नेमा त्रिवि शिक्षण अस्पतालका इन्टर्न डाक्टर सागर पोखरेल, टिचिङकै विद्यार्थी बद्री अर्याल, विशद दाहाल, निर्जा सिद्धिकी, विक्रम ओली, र पदम जोशी छन्।
यसैगरी, अन्य पक्राउ पर्नेमा विवेकशील नेपाली दलका पुकार बम, ज्ञानेन्द्र निरौला, अविनाश बस्नेत र पारस रावत छन्।
टंगालमा प्रदर्शनमा उत्रिएकाहरूमाथि प्रहरीको धरपकड भरतबन्धु थापाले यसरी कैद गरे, तस्बिर हेर्नुहोस्।