केयुका पदाधिकारीले संसदको सुशासन तथा अनुगमन समितिमा अख्तियारको हस्तक्षेपबारे मुख खोलेका छन्।
केयुले लिने मेडिकल स्नातकोत्तर कार्यक्रमको प्रवेश परीक्षामा अख्तियारले हस्तक्षेप गरेकोबारे अस्वीकार गर्दै आएका रजिष्ट्रार भोला थापाले सांसदहरुलाई जवाफ दिँदै भने, ‘अख्तियार आएको हो। उजुरी परेको छ भन्दै आएका थिए। तर, कुनै लिखित पत्र ल्याएका थिएनन्। हामीले आफ्ना विद्यार्थीहरुको भविष्य हेरेर सहयोग गर्यौं।’
केयु पदाधिकारीसँगको छलफलपछि सुशासन समितिले अख्तियार प्रमुख र सबै पदाधिकारीलाई आइतबार बोलाउने निर्णय गरेको छ।
‘आइतबारको छलफलपछि छानविन समिति बनाउने नबनाउनेबारे हामी निर्णय गर्छौं,’ समितिका सभापति मोहनसिंह राठौरले सेतोपाटीसँग भने।
जेठ १५ गते लिन लागेको मेडिकल साइन्सको पोष्ट ग्र्याजुएट (पिजी)को परीक्षामा प्रश्नपत्र किनबेच भएको दाबी गरी ती प्रश्नपत्र रद्द गराउने भन्दै अख्तियार केयु पुगेको थियो। जेठ १३ गते पुगेको अख्तियारले आफू सँगसँगै लगेको ‘विशेषज्ञ टिम’ले प्रश्नपत्र तयार पारेको थियो।
अख्तियार केयु जानुअघि नै त्यहाँका १४ वटा सिसी क्यामरा ‘सिज’ गरिएको केयु स्रोतले सेतोपाटीलाई जानकारी दिएको छ। ‘क्यामेराले काम नगर्ने बनाइएको थियो, हाम्रा सुरक्षा गार्डहरु पनि थिएनन्, अख्तियारका कर्मचारी, विज्ञ र प्रहरी नै खटिएका थिए,’ केयु स्रोतले भन्यो।
सह-सचिव विकेन्द्र श्रेष्ठको नेतृत्वमा ५८ जना प्रहरी र ‘विज्ञ’हरु केयु पुगेका थिए। अख्तियारको अनुगमन महाशाखा प्रमुख एसपी भरत शर्मा र सहन्यायधीवक्ता पदमप्रसाद पाण्डे पनि टोलीमा थिए।
अख्तियारको ‘विज्ञ टोली’मा मेडिकल काउन्सिलका शिक्षा समिति संयोजक डा. सुप्रभात श्रेष्ठ, काउन्सिलका पूर्व उपाध्यक्ष डा. नीलमणि उपाध्याय, प्रहरी अस्पतालका डा. सरोज श्रेष्ठ, किस्ट मेडिकल कलेजका ऋषिकेशनारायण श्रेष्ठ, टिचिङ्ग अस्पताल महाराजगञ्जका डा. शशी शर्मा, डा. सुबोध अधिकारी र डा. राजन क्षेत्री थिए। ‘विज्ञ टोली’का सदस्य अख्तियार आफैंले छानेको थाहा थियो।
त्रिवि शिक्षण अस्पतालमा अनसनरत् वरिष्ठ चिकित्सक गोविन्द केसीले अख्तियारले चिकित्सा क्षेत्रमा हस्तक्षेप बढाउँदै लगेको र पछिल्लोपटक केयुमा अनधिकृत हस्तक्षेप गरेको भन्दै अख्तियार प्रमुख लोकमानसिंह कार्कीको महाअभियोग माग गरिरहेका छन्।
चिकित्सा क्षेत्रका बेतिथि हटाउन र लोकमानको महाअभियोग माग गर्दै केसी आमरण अनसन बसेपछि अख्तियारले उनलाई ‘मानसिक रोगी’ भनेको थियो।
आफूले केयुमा हस्तक्षेप नगरेको तर मेडिकल काउन्सिललाई त्यहाँ भइरहेको अनियमितता बारे छानविन गर्न भनेको जानकारी दिँदै प्रेस विज्ञप्ति जारी गरेको थियो। त्यही विज्ञप्तिमा ‘अख्तियार प्रमुखको महाअभियोग माग्ने डाक्टर केसी ‘मानसिक रोगी’ भएकाले ‘उपयुक्त उपचार गर्नू’ उल्लेख थियो।