इटहरी, वैशाख १८ (सेतोपाटी)- एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले पूर्वाञ्चलमा भौतिक पूर्वाधारका लागि चीन र भारतसँगै थुप्रै माग राखेको उल्लेख गर्दै ती माग पूरा हुने आश्वासन दिए । विभिन्न आयोजनाको टिपोट बोकेर मञ्चमा रहेका दाहालले 'भन्न छुटाएछु' भन्दै फेरि दुई आयोजनाको नाम पनि थपे ।
दाहालले सुनसरी-मोरङ औद्योगिक करिडोरका उद्योग चलाउन विद्युत् अभाव रहेको बताउँदै भारतसँग ५० मेगावाट विजुली भाग गरेको उल्लेख गरे । विराटनगरको जुटमिल चलाउने वातावरणका लागि पहल गर्न पनि आग्रह गरेको उनले बताए । दाहालले पूर्वाञ्चलमा अन्तर्राष्ट्रियस्तरको विमानस्थल निर्माण गर्ने आश्वासन दिए । 'हामीलाई बहुमत दिनुस्, हाम्रो सरकार बनेपछि पूर्वाञ्चलमा पर्यटकलाई सजिलो बनाउन अन्तर्राष्ट्रिय स्तरको विमानस्थल निर्माण गर्छौं,' उनको भनाइ थियो ।
दाहालले मोरङको कटहरुमिा विद्युत् सव स्टेशन राख्नका लागि नेपाल सरकार र विद्युत् प्राधिकरणलाई पार्टीको तर्फबाट आग्रह गर्ने बताए । उनले किमाथाङ्कादेखि मोरङसँग लिंक रोड निर्माणका लागि चीनलाई अनुरोध गरेको उल्लेख गरे । आधा दर्जन विकासे सपना बाँडेर बिदा भएका दाहाल फेरि फर्किए । भने, 'अघि छुटाएँछु मैले भारतसँग अरुण तेस्रो जलविद्युत् आयोजना निर्माणका लागि प्रस्ताव राखेको छु ।'
'इटहरीका सुकुम्बासी परिवारलाई लालपुर्जा दिने अघिल्लो पटक भएको संविधानसभा चुनाव अगाडि नै हामीले भनेका थियौं, पूरा भएको छैन,' उनले फेरि आश्वासन दिए, 'उच्चस्तरीय राजनीतिक समितिको तर्फबाट सरकारलाई आग्रह गरिनेछ ।'