इटहरी, वैशाख १८ (सेतोपाटी)- पूर्वप्रधानमन्त्री एवं एमाओवादी उपाध्यक्ष बाबुराम भट्टराईले १० वर्षसम्म एनेकपा माओवादीलाई शासन गर्न दिन आग्रह गरेका छन् ।
मजदुर दिवसमा बुधबार इटहरीमा भएको सभामा भट्टराईले एमाओवादीले १० वर्षसम्म शासन चलाउने मत पाए प्रतिव्यक्ति आय तीन हजार डलर पुर्याउने दाबी गरे । उनले एमाओवादीसँगमात्र मुलुक चलाउने नेतृत्व र नीति रहेको बताए ।
भट्टराईले पुरातन शक्ति एकातिर र परिवर्तनकारी बाँकी अर्कोतिर हुँदा संविधानसभा विघटन भएको बताए । 'पुराना शक्तिहरुले राजतन्त्रको ठाउँ लिने कोसिस गरे, एकात्मक प्रणाली अपनाउने धृष्टता गरे,' उनले भने, 'हामीले त्यसलाई स्वकार्न सकेनौं ।'
आगामी चुनावमा कांग्रेसको नेतृत्वमा यथास्थितिवादी र एमाओवादी नेतृत्वमा परिवर्तनकार्मी शक्तिहरु ध्रुविकृत हुने उनले बताए । 'अब भेडा, भेडासँग बाख्रा बाख्रासँग हुने अवस्था आएको छ,' उनले भने ।