संघीयता कार्यान्वयन तथा पुनर्संरचना उच्चस्तरीय निर्देशक समितिको पहिलो बैठक बसेको छ।
सरकारले तीन महिना पहिले प्रधानमन्त्रीको अध्यक्षतामा संघीयता कार्यान्वयन तथा पुनर्संरचना उच्चस्तरीय निर्देशक समिति गठन गरेकामा समितिको पहिलो बैठक शुक्रबार सिंहदरबारमा बसेको हो।
पहिलो बैठकमा मन्त्रालयहरुको संख्या घटाउने र दरबन्दी कटौतीका विषयमा सामान्य छलफल भएको छ।
संविधानमा नै मन्त्रीहरुको संख्या २५ भन्दा बढी नहुने व्यवस्था रहेका कारण मन्त्रालयको संख्या र कर्मचारीको दरबन्दी कटौतीका विषयमा छलफल भएको हो । मन्त्रालयको संख्या कति कायम गर्ने भन्ने विषयमा अर्को बैठकमा मस्यौदासहित छलफल हुने सामान्य प्रशासनमन्त्री रेखा शर्माले जानकारी दिइन्।
मन्त्रिपरिषद्ले संघीयता कार्यान्वयनका लागि भन्दै चैतको अन्तिम साता प्रधानमन्त्रीको अध्यक्षतामा संघीयता कार्यान्वयन तथा पुनर्संरचना उच्चस्तरीय निर्देशक समिति तथा मुख्यसचिवको अध्यक्षतामा संघीयता कार्यान्वयन तथा प्रशासन पुनर्संरचना समिति गठन गरेको थियो।
प्रधानमन्त्री अध्यक्ष रहेको ११ सदस्यीय समितिको बैठकले अर्को बैठकमा प्रशासन पुनर्संरचना सम्बन्धी ठोस खाका पेश गर्न मुख्यसचिव अध्यक्ष रहेको समितिलाई निर्देशन दिएको छ ।