पूर्वमन्त्री एवम् संघीय समाजवादी फोरम नेपालका नेता मंगलसिद्धी मानन्धरको ७५ वर्षको उमेरमा निधन भएको छ। मानन्धरको हृदयघातका कारण शुक्रबार बिहान १० बजेर ४५ मिनेटमा निधन भएको संघीय समाजवादी फोरमका नेता राजेन्द्र श्रेष्ठले बताए। उनको नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
क्यान्सरले समेत थलिएका मानन्धरको दुई महिना अघि मात्र भारतको इन्दिरा गान्धी अस्पतालमा उपचार गरिएको थियो। योजना आयोगका पूर्व उपाध्यक्ष समेत रहेका मानन्धर अहिले संघीय समाजवादी फोरमको सल्लाहकार समिति प्रमुख थिए।
६२/६३ को जनआन्दोलनपछि बनेको सरकारमा मानन्धर शिक्षामन्त्री बनेका थिए। मानन्धरले त्रिभुवन विश्वविद्यालयबाट भूगोल विषयमा स्नातकोत्तर गरेका छन्। उनले अमेरिकाको ओक्लहोमा विश्वविद्यालयबाट भूगोलमै विद्यावारिधि गरेका छन्। मानन्धर त्रिभुवन विश्वविद्यालय, केन्द्रीय क्याम्पस भूगोल विभाग प्रमुख पनि भएका थिए। २०५१ सालमा नेकपा एमालेको नौ महिने सरकारमा उनी योजना आयोगको उपाध्यक्ष भएका थिए।
मानन्धरका श्रीमती, दुई छोरा र एक छोरी छन्। उनको भोलि मात्र अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ।