सरकारले संसदमा पेश गरेको आगामी आर्थिक वर्षको वार्षिक बजेट सदनमा पेश हुनुअगावै सञ्चारमाध्यममा प्रकाशित भएको विषयमा छानविन गर्न गठित संसदीय समितिले पूर्णता पाएको छ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जेठ १५ गते संसदमा पेश गरको वार्षिक बजेट सदनमा पेश गर्नुअघि नै पत्रपत्रिकामा प्रकाशित भएको भन्दै विपक्षी दल नेपाली कांग्रेसले विरोध गरेपछि संसदमा दलहरुको सहमतिमा विशेष समिति गठन भएको थियो।
कांग्रेसका सांसद रमेश लेखकको संयोजकत्वमा गठित छानविन समितिमा सदस्यहरूको चयन नभएकोमा बिहीबारको संसद बैठकमा सभामुख ओनसरी घर्तीमगरले सदस्यको नाम पढेर सुनाएकी थिइन्।
यसरी छानविन विशेष समितिमा रहने सदस्यहरूमा कांग्रेसका भरतकुमार शाह, रामहरि खतिवडा, एमालेका राजन भट्टराई, वैद्यनाथ चौधरी, माओवादी केन्द्रका अमनलाल मोदी, राप्रपा नेपालबाट सीता लुइँटेल, फोरम लोकतान्त्रिकका बाबुराम पोख्रेल र संघीय समाजवादी फोरम नेपालका शिवजी यादव रहेका छन्।
उक्त छानविन विशेष समितिलाई तीन महिनाको समय संसदले दिएको थियो।