गोल्छा परिवारका धनाढ्य राजकुमार गोल्छा एकीकृत नेकपा माओवादीबाट समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत उम्मेदवार सिफारिस भइसक्दा उनकी सहोदर भाउजु राजलक्ष्मी नेकपा एमालेको सूचीमा चर्चित थिइन्। बाहिर जस्तो हल्ला चले पनि जिल्ला नेतृत्व राजलक्ष्मीलाई सिफारिस गर्ने पक्षमा थिएन।
र मोरङ एमालेको नेतृत्वले कहिल्यै पनि समानुपातिकको कोटामा राखेन पनि । आधा दर्जन बढी उद्योगीको नाम आइरहँदा जिल्लाको सिफारिसमा जगदीश राठी, ताराचन्द खेतान र श्रीनिवास सारडाले मात्र नाम लेखाउन सके। समानुपातिकको चर्चामा रहिरहेका सुयश प्याकुरेल, भीम घिमिरे, गिरेन्द्र कार्की लगायत उद्योगी जिल्लै परे।
गोल्छा घरानाका धनाढ्य राजकुमारलाई एमाओवादीले तान्दा एमालेले राजलक्ष्मीलाई ताकि भने रहिरह्यो। एमाले राजनीतिसँग 'गोरु बेचेको साइनो'समेत नरहेको भनी जिल्ला नेतृत्वलाई राजलक्ष्मी सिफारिसमा नपार्न कार्यकर्तापंक्तिबाट ठूलै दबाब थियो।
एकाध पक्ष भने राजलक्ष्मीको पक्षमा खुलेरै लागेको थियो। केपी ओली पक्षधरबाट दबाब आइरहँदा जिल्ला अध्यक्ष महेश रेग्मीले हुँदैन भन्दै भन्दै पन्छिने गरेका थिए। तर उनी एमालेले निर्वाचन आयोगमा समानुपातिकको बन्द सूची बुझाउँदा छुटिनन्। एमाले स्रोतका अनुसार उनी समानुपातिक सभासद निश्चितै हुन्।
महेश जाजु, अबिनाश बोहराहरु कांग्रेससँग टिकटको गुहार मागिरहँदा राजलक्ष्मी चुपै बसिन्। एमाले अनुरोध गरिरहँदा उनले नाइनास्ती गरिरहिन्।
तर राजलक्ष्मीले एमालेको बन्दसूचीलाई अस्वीकार गरे पनि एमालेले टेरेन। एमालेले नटेरेपछि राजलक्ष्मी निर्वाचन कार्यालय मोरङ गुहार्न बाध्य पारिइन्। राजलक्ष्मीले असोज २० गते आयोग कार्यालयलाई लेखेको पत्रमा त्यो असहमति छरपस्ट भएको छ। 'एमालेबाट मेरो नाम बन्दसूचीमा परेको जानकारी आयो,' पत्रमा भनिएको छ, 'म उपयुक्त पनि छैन र मेरो असहमति छ।'
हेर्नुहोस् पत्र।
एमाले स्रोतका अनुसार राजलक्ष्मी केन्द्रबाट सिधै सिफारिसमा परेकी हुन्। राजलक्ष्मी निकट अनुसार एमालेले धेरै चन्दाको डिमान्ड गरेपछि उनी पन्छिन खोजेकी थिइन्। ओली पक्षधरको दबाब बढेपछि उनले तीन करोड चन्दा दिने तर उम्मेदवार नबन्ने भनेकी थिइन्।
'जिल्ला अध्यक्षले पार्टीमा सिन्को भाँचेको योगदान नभएको भनेर नाम हाल्नै मान्नुभएन,' एमालेका एक जना जिल्ला नेताले सेतोपाटीसँग भने, 'ओली पक्षको ठूलो दबाब थियो, सिधै काठमाडौंबाट राजलक्ष्मीको नाम चढेछ।'
निर्वाचन कार्यालय मोरङका प्रमुख झंगनाथ शर्माका अनुसार समानुपातिक तर्फको उम्मेदवारीमाथि कारबाही गर्ने अख्तियारी जिल्ला कार्यालयलाई छैन। 'उहाँ आउनुभएको थियो चिठी लिएर, समानुपातिकको उम्मेदवारी फिर्ता गराउने वा त्यसउपर कुनै कारबाही गर्ने अधिकार हाम्रो क्षेत्राधिकारभित्र पर्दैन भन्दिएँ,' शर्माले भने, 'मैले काठमाडौंमा सम्पर्क गर्नु भनेर पठाइदिएको थिएँ।' समानुपातिक बन्दसूचीमा असमति गरेको एक दुई दिनमै राजलक्ष्मी विदेश घुम्न निस्किएकी छिन्।
एमाले जिल्ला अध्यक्ष रेग्मी राजलक्ष्मी प्रकरणबारे आफूलाई कुनै जानकारी नरहेको बताउँछन्। 'केन्द्रबाट सिधै सिफारिसमा परेकाले मलाई जानकारी भएन,' रेग्मीले भने, 'हामीले यहाँबाट तीन जनाको मात्र नाम सिफारिस गरेर पठाएका थियौं।'
निर्वाचन कानुनअनुसार उम्मेदवारले स्वेच्छाले नाम हटाउन पाउँछन्। बलजफ्ती वा दबाबमा उम्मेदवारीमा नाम हाल्न नपाइने नियम छ। जिल्ला अध्यक्ष रेग्मी भन्छन्, 'जिल्लाबाट सिफारिस भएको भए म यसको जवाफ दिन्थेँ।'
तस्बिर : राजलक्ष्मी गोल्छा र पत्र।