अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजमा मङ्गलबार सशस्त्र हतियारधारीहरुले कम्तीमा १६ व्यक्तिको गोली हानी हत्या गरेका छन्।
कुन्दुज प्रान्तको प्रान्तीय राजधानी कुन्दुज सहरको दक्षिणतर्फको बाहिरी इलाकामा पर्ने कजाकाह क्षेत्रमा गुडिरहेका बस रोकेर मंगलबार यात्रुको हत्या गरिएको प्रहरीले जनाएको छ ।
स्थानीय समय अनुसार मंगलबार बिहान लामो दुरीमा चल्ने तीनवटा बस बीच बाटोमा रोकी कम्तीमा १६ जना अफगान नागरिकको गोली हानी हत्या गरेका बताइएको छ ।
यसैगरी तीनै बसमा रहेका ४५ सर्वसाधारणको अपहरण समेत गरेका समाचारमा जनाएको छ ।
ती तीनवटा बसमा माहिला बालबालिकासहित करिब १८० यात्रु सवार रहेका प्रहरीले जनाएको छ । तालिवान आतङ्ककारी समूहले यस हत्या र अपहरणको जिम्मा लिएका छन् ।
तालिवान आतङ्ककारी समूहले अफगानिस्तानमा अप्रिलको सुरुबाट भीषण आक्रमण गर्ने बताए अनुसार विभिन्न इलाकामा आक्रमण गर्दै आएका छन्।
यसैबीच कुन्दुजको छिमेकमा पर्ने समानगान प्रान्तमा एक स्थानीय इन्जिनियरको पनि अज्ञात सशस्त्र व्यक्तिहरुले अपहरण गरेका छन्।
अफगानिस्तानमा जारी द्वन्द्वमा परी यसैबर्षको सुरुदेखि चारमहिनाभित्र करिब ६ सय व्यक्तिको मृत्यु हुनुको साथै अन्य १ हजार ३४० जना घाइते भएका छन् ।
अफगानिस्तानको लागि संयुक्त राष्ट्रसंघीय मिसनले पछिल्लो समयमा हिंसाको शृंखला बढ्दै गएको जानकारी दिएको छ ।