आन्दोलनरत मधेसी मोर्चाले मंगलबार पनि संसदको बैठक बहिष्कार गरेको छ।
अपरान्ह १ बजेपछि बसेको संसद बैठकमा मोर्चाका सदस्यहरुले उभिएर विरोध जनाएपछि सभामुख ओनसरी घर्तिमगरले सदभावना पार्टीका नरसिंह चौधरीलाई बोल्न समय दिइन्।
सदनमा बोल्दै चौधरीले संघीयताको पक्षधर मधेसी दलहरुले निरन्तर आन्दोलन गरिरहे पनि सरकार उनीहरुको माग सम्बोधनमा गम्भीर नभएको भन्दै संसद बहिष्कार गर्ने बताए।
प्रमुख प्रतिपक्षी दल कांग्रेसले उठाएको बजेटबारे सूचना चुहाएर संसदको मानहानी गरेको पनि उनले आरोप लगाए।
संविधानमा आवश्यक संशोधन गरी आन्दोलनरत पक्षको माग सम्बोधन गर्न सरकार गम्भीर नभएकाले मधेसी, जनजाति, मुस्लिम लगायतले राजधानीमा पनि आन्दोलन गर्दा त्यसलाई थप निरन्तरता दिने बताए।
‘हामी पनि नेपालकै नागरिक हौं। हामीलाई यो देश र जनताको जति चिन्ता छ त्यो सरकारलाई तर यो चिन्ता सरकारलाई छैन,’ उनले भने, ‘सरकारले वार्ताका लागि औपचारिक अनौपचारिक पत्र पठाएको छैन।’
सरकारले मिडियामार्फत भ्रम फैलाएको भन्दै सभामुखलाई यसबारे सरकारलाई निर्देशन दिन आग्रह गरे। उनले आन्दोलनरत दलका सांसदहरुले सदनको कारबाही बहिष्कार गर्ने बताउँदै बाहिरिए।