नेकपा एमाले दाङ जिल्ला कमिटीको पूर्ण बैठक सोमबार घोराहीस्थित पार्टी कार्यालयमा बस्दै छ। बैठक यसअघि नै तय गरिएको थियो। तर आइतबार मात्रै नेकपा एमाले दाङका कार्यबाहक अध्यक्ष जोगबहादुर रानाविरूद्ध जिल्ला सचिव हुकुमबहादुर बस्नेत समूहले समानान्तर कमिटी गठन गरिसकेको छ।
छुट्टै भेलाले जिल्ला सचिव बस्नेतलाई कार्यबाहक अध्यक्ष घोषणा गरेपछि अब एमाले दाङमा विवाद चर्किएको छ। बस्नेत पार्टी अध्यक्ष केपी ओली पक्षधर हुन भने अर्का अध्यक्ष राना वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर हुन्।
सोमबारका लागि यसअघि नै आह्वान गरिएको जिल्ला कमिटीको पूर्ण नवगठित अध्यक्ष बस्नेत समूहले बहिस्कार गर्ने जानकारी दिएको छ। अध्यक्ष बस्नेतले आजको बैठकमा उपस्थित हुनुको कुनै तुक नरहेको बताए। तर अध्यक्ष राना पक्षधरले भने बैठकमा उपस्थित भएर बहुमत सिद्ध गर्न बस्नेत समूहलाई चुनौती दिएको छ।
८८ सदस्य जिल्ला कमिटीमध्ये बहुमतले बस्नेतलाई अध्यक्ष बनाउन चाहेमा आफूहरूले त्यसलाई सहजै स्वीकार गर्ने अध्यक्ष जोगबहादुर रानाले बताए। तर अर्का अध्यक्ष बस्नेतले समेत आफ्नो पक्षमा बहुमत भएको दाबी गर्दै अध्यक्ष रानालाई बहुमत जुटाउन चुनौती दिएका छन्। अध्यक्ष राना समूहले बस्नेतलाई एकाएक अध्यक्ष गुसाना गरिनु अवैधानिक रहेको बताएको छ।
अध्यक्ष राना निकटकै मानिने जिल्ला प्रवक्ता श्याम डाँगीले बस्नेत समूहले भूमिगत शैलीमा कोठे बैठकमार्फत गरेको घोषणा स्वीकार्य हुनै नसक्ने तर्क गरे। उनले वैधानिक रुपमा सोमबारको बैठकमा बहुमत देखाउन बस्नेत पक्षधरलाई चुनौती दिए। तर बस्नेत पक्षधरले भने अध्यक्ष रानाले पार्टी विधि र विधानविपरीत सञ्चालन गर्दै पार्टीमा गुट हावी गरेको, समानान्तर कमिटी गठन गर्दै जान थालेकोले पार्टी जोगाउन बस्नेतलाई अध्यक्ष तोकिएको दाबी गरेको छ।
पार्टीको ९ औं महाधिवेशनमा दाङ जिल्ला अध्यक्ष नरुलाल चौधरी केन्द्रीय सदस्यमा पराजित भएपछि विद्यानअनुरुप उनी स्वतः अध्यक्ष पदबाट मुक्त भएपछि जिल्ला उपाध्यक्ष जोगबहादुर राना कार्यबाहक अध्यक्ष बनेका थिए। तर यसबीचमा उनले जिल्ला कमिटीको बैठक नडाकेको, ११ जना जिल्ला सदस्यलाई निष्कासित गरेको, जेठको पहिलो हप्ता गर्ने भनेको अधिवेशन नगराएको जस्ता आरोप बस्नेत समूहले लगाएको छ। यही विषयलाई लिएर जिल्ला कमिटी बैठकमै यसअघि पदाधिकारीहरूका बीचमै कुटाकुटसमेत भएको थियो।