एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफ्नो चार दिने भारत भ्रमण सकेर स्वदेश फर्किएका छन् ।
भ्रमणबाट फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार साँझ सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष दहालले भारतीय प्रधानमन्त्री लगायत भारतका नेताले आफ्नो भ्रमणलाई अत्यन्तै महत्व दिएको र बदलिँदो विश्व राजनीतिलाई ध्यानमा राखेर अगाडि बढ्नुपर्नेमा जोड दिएको बताए । दाहालले दुई देशबीचको विश्वासको वातावरणलाई अझ मजबुत बनाउन आफ्नो भ्रमण सफल रहेको बताएका छन् ।
ऐतिहासिक बाह्रबुँदे सझदारीबाट सुरु भएको राजनीतिक परिवर्तनको यात्रालाई निष्कर्षमा पुर्याउन आगामी मङ्सिरमा जसरी भए पनि संविधानसभा निर्वाचन गराउनुपर्नेमा भारतीय नेताले जोड दिएको उनको भनाइ छ। “भारतीय प्रधानमन्त्री डा मनमोहन सिंहले पनि संविधानसभाको निर्वाचन आागामी मङ्सिरमा गराउनुपर्नेमा विशेष जोड दिनुभयो, अरु नेताले पनि सोही धारणा राख्नुभयो, निर्वाचनका लागि सबै खालको सहयोग गर्ने उहाँहरुको प्रतिबद्धता रहेको छ, यसले नेपाललाई राजनीतिक स्थिरतामा लैजान्छ भन्नेमा उहाँहरुले आशा व्यक्त गर्नुभएको छ। ” विमानस्थलमा दहालले भने ।
दाहालले नेपाल आउनुअघि भारतीय प्रधानमन्त्री मनमोहन सिंहलाई भेटेका थिए । उनको भ्रमण टोलीमा नेता कृष्णबहादुर महरा, पत्नी सीता र सहयोगी शिव खकुरेल थिए ।
एमाओवादी अध्यक्षलाई स्वागत गर्न विमानस्थलमा एमाओवादी उपाध्यक्ष डा बाबुराम भट्टराई, महासचिव पोष्टबहादुर बोगटीलगायत नेता तथा कार्यकर्ता पुगेका थिए।
तस्विर : क्रान्ति आले